काठमाडौं। फागुन २१ को जनमतबाट किनारामा परेका प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका जिम्मेवारीलाई पूरा गर्न जवाफदेहीपूर्ण र परिपक्व ढंगबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधिसभाको आजदेखि प्रारम्भ हुने पहिलो अधिवेशनका सन्दर्भमा उनीहरूले समग्र देश र जनताका हितमा तर्जुमा हुने कानुनदेखि जनसरोकारका मुद्दा सम्बोधन गर्ने कार्यमा हातेमालो गर्दै अघि बढ्ने धारणा व्यक्त गरेका हुन्।
मुख्य प्रतिपक्ष नेपाली कांग्रेसका सांसद भरत खड्काले कांग्रेस लोकतान्त्रिक मूल्य मान्यतालाई शिरोधार्य गर्ने पार्टी भएकाले संसदमा परिपक्व र जवाफदेही भएर प्रस्तुत हुने धारणा व्यक्त गरे।
उनले भने, ‘विगतमा सरकार र पार्टी चलाउँदा कहीँकतै कमजोरी भएको छ, त्यस आधारमा यसपटक मतदाताले केही हदसम्म दण्ड पनि दिएका छन्, त्यसलाई स्वीकार्नुपर्छ। कांग्रेसले आफूलाई सुधार गर्दै समयसापेक्ष तुल्याउनुपर्छ। जनताले दिएको जनादेशअनुसार जवाफदेहिता र जिम्मेवारीपूर्वक परिपक्व र परिस्कृत ढङ्गले सदनमा प्रस्तुत हुन्छौं।’
एमाले सांसद सुहाङ नेम्वाङले यसपटक सदनमा सत्ता र प्रतिपक्षको भावनाले नभई देश र जनताको समृद्धि तथा कल्याणका लागि मिलेर काम गर्ने बताए। उनले भने, ‘प्रतिपक्षमा रहेर सरकारका कामको गुण र दोषका आधारमा समर्थन र आलोचना गर्छाैं। असल कामका लागि रचनात्मक सल्लाह र सुझाव दिन्छौँ। असल काममा पनि विरोध गर्ने शैली अब कसैले पनि अपनाउनुहुन्न।’
नेपाली कम्युष्टि पार्टीका सांसद युवराज दुलालले प्रतिपक्षको भूमिकामा रहेर विधिको शासन र सुशासनका मुद्दालाई प्राथमिकताका साथ उठाइने बताए।
उनले भने, ‘किसानलाई राहत, युवालाई स्वदेशमै रोजगारी, संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिस्कृत र सुदृढ तुल्याउने तथा प्रदेश मन्त्रिपरिषद् संख्या घटाउन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपति व्यवस्था गर्न संविधान संशोधनलगायत विषयलाई आगामी अधिवेशनमा महत्त्वका साथ उठाइनेछ।’
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव
संघीय संसद्का पूर्वमहासचिव डा भरतराज गौतमले वर्तमान सरकार र संसद्ले गरिबीको रेखामुनि रहेका ठूलो जनसंख्यालाई माथि उकास्न आर्थिक समृद्धि र विकासका योजना बनाउन सुझाव दिए।
उनले भने, ‘हाम्रा उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्न सकिने पक्षलाई ध्यानमा दिँदै आगामी बजेटमार्फत विकास र आर्थिक ‘एजेन्डा’लाई बढी प्राथमिकता दिएर अघि बढ्नुपर्छ। आर्थिक विकास नभई अन्य क्षेत्रमा त्यति धेरै सफलता प्राप्त गर्न सकिन्न।’
प्रतिनिधिसभा सदस्यका लागि गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ।