काठमाडौं। कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे विगतका ३५ वर्षमा केही नभएको भन्ने भाष्य गलत भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बिहीबार बोल्दै आङ्देम्बेले यस्तो बताएका हुन्। प्रतिनिधिसभाको प्रथम सम्बोधन गर्दै उनले गाउँमा आएको बाटो, कुपि र दियालो परिवर्तत भएर घरघरको बिजुली यही अवधिमा बलेको तथा अहिले धेरैका आँगनमा पुगेको खानेपानी यही अवधिमा बनेको, गाउँमा दुःखसुख खुलेका विद्यालय र अस्पताल यही अवधिमा बनेको बताए।
उनले भने, ‘दुर्गमको हातहातमा पुगेको सञ्चार हुनु केही नभएको हो कि भएको हो ?’ ३५ वर्षको अवधिमै राजाले सत्ता हातमा लिएको, दुई भूकम्प गएको र दश वर्ष युद्ध भएको भन्दै आङ्देम्बेले कमजोरी पनि स्वीकार गरे। भने, ‘हो, योभन्दा बढी हुनुपर्थ्यो। एकातिर अनेक प्रतिकूलता र शासकीय कमजोरीले हुन सकेन। यसप्रति हामी आत्मालोचित छौँ। जेजे भए, हामी सबैको प्रयासले भएको हो।
आङदेम्बेले विशेष महाधिवेशनबाट सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेस बदलिएको बताए। उनले बदलिए पनि सीमित समय हुँदा कांग्रेसले अपेक्षित नतिजा नल्याएको बताए। ‘विशेष महाधिवेशनबाट कांग्रेस बदलियो। विशेष महाधिवेशनले दृष्टिकोण पारित गरेको छ। गगन थापालाई सभापति बनाएर कांग्रेसले बदलिएको सन्देश दिएको छ,’ आङदेम्बेले, ‘छोटो समयमा परिवर्तनको सन्देश नागरिक पंक्तिमा दिन सकिएन।’
कांग्रेसले हरेक परिवर्तनको नेतृत्व गर्दै आएको भन्दै उनले जनताका मुद्दामा सरकारलाई सहयोग गर्ने पनि बताए। गलत कुरामा खबरदारी पनि उत्तिकै गर्ने उनको भनाइ छ। आङ्देम्बेले फरक दल भए पनि सबै दल एउटै नौकामा सवार भएको बताए।
‘नागरिक पंक्तिमा आशा र विश्वास निरन्तर जगाउने हो। विश्वास आशा जगाउन सकौँ। भिन्न भए पनि एउटै नौकामा छौँ। डुबेसँगै, उत्रिए पनि सँगै छौँ । दल भिन्न होला तर देश एउटै हो। अब कसैले कहिल्यै रगत बगाउन नपरोस्,’ आङ्देम्बेले भने, ‘जेन–जी पुस्ताले उठाएको मुद्दालाई टुंगोमा पुर्याउन कांग्रेस प्रतिबद्ध छ। हामी उनीहरूका मुद्दा खबरदारी गर्न टुंगोमा पुर्याउन हामी तयार छौँ।’