काठमाडौं। नवगठित प्रतिनिधि सभाको पहिलो बैठकमा सांसद मनिष झाले संसदीय मर्यादा, सिद्धान्त र अभ्यासबारे अत्यन्त सशक्त र विचारोत्तेजक धारणा राखेका छन्।
आन्दोलन, सहिद र त्यागको बलमा आएको यो परिवर्तनले ल्याएको नयाँ सदनप्रति गहिरो आस्था र जिम्मेवारीबोध व्यक्त गर्दै उनले सबै सहकर्मी सांसदहरूलाई संसदीय संस्कार र सिद्धान्तको पालना गर्न आग्रह गरे।
सांसद झाले आफू निर्वाचन प्रचारप्रसारका क्रममा विभिन्न ठाउँ जाँदा मतदाताहरूलाई भन्ने गरेको स्मरण गराए। उनले भने, "हामी केवल मत माग्न आएका छौँ, हामी दक्षिण एशियाकै उत्कृष्ट संसदीय अभ्यास गर्न चुनावमा होमिएका छौँ।" आज त्यही सपना साकार हुँदै गरेको उनले बताए। सदनमा सबै सहकर्मी र सहयात्री माननीय प्रतिनिधि सभा सदस्यहरूलाई हेर्दा दक्षिण एशियाकै उत्कृष्ट सदनको परिकल्पना अब अभ्यासमा उतार्ने बेला आएको उनको भनाइ थियो।
सांसद झाले अब सदनमा संस्कार, संस्कृति र सिद्धान्तको युग आएको घोषणा गरे। उनले भने, "अब संस्कारको पालो आएको छ। अब संस्कृतिको पालो आएको छ। र सिद्धान्तको पालो आएको छ।" यो सदन यसअघि खुमलटार, बालुवाटार, बुढानीलकण्ठ र बालुकोटाको बन्दी भएर बसेको र त्यही कारण संख्या मात्र गनिएको तर सिद्धान्त सधैं कमजोर रहेको उनले स्पष्ट पारे। अब त्यो अवस्था फेरिनु पर्ने र सदन साँच्चिकै जनताको आवाजको केन्द्र बन्नु पर्ने उनको जोड थियो।
उनले भने, "सदन एउटा चौतारी र चिया पसल होइन, जहाँ मन लागे आउँछु, मन लागे बोल्छु, मन लागे बस्छु, नमन लागे जान्छु — त्यस्तो होइन।" सदन गुरुकुल हुनुपर्छ, विश्वविद्यालय हुनुपर्छ भन्दै उनले थपे, "जहाँ म होमवर्क गरेर आउँछु, एउटा प्रश्न र प्रस्ताव लिएर आउँछु, प्रस्तुतिको तयारी गरेर आउँछु।" जनताको प्रश्नले अस्तित्व नपाएको सदनमा जनता नै नभएको बराबर हुने उनले जोड दिए।
उनले भदौ २४ गतेको ऐतिहासिक दिनको पनि सम्झना गराए, जतिबेला बालुवाटार र राष्ट्रपति कार्यालयभन्दा पहिला नै जनताको उपस्थिति यही सदनमा देखिएको थियो। यो क्षण नै सदनको वास्तविक शक्ति र जनताको सदनप्रतिको विश्वासको प्रतीक भएको उनको भनाइ थियो।
सांसद झाले सत्तापक्षलाई पनि स्पष्ट र कडा सन्देश दिए। उनले भने, "सत्ता पक्ष बलियो हुँदैगर्दा दब देखाउने होइन। दब देखाउँदाको परिणाम त हामीले देखिसक्यौँ— भदौ २३ सम्झिरहनुपर्छ।" उनले सत्तापक्षले उदारता, संस्कार र सिद्धान्त देखाउनु पर्ने कुरामा जोड दिए। बहुमत भएको भन्दैमा विपक्षलाई दबाउने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने उनको आशय स्पष्ट थियो।