काठमाडौं। व्यवसायी अजेयराज सुमार्गी पराजुली नेपालको आर्थिक क्षेत्रमा लामो समयदेखि परिचित नाम हाे। तर हरपटक उनी कारबाहीको घेरामा परे, शक्तिको आड र राजनीतिक दबाबले उनलाई उम्किने बाटो खुलाइदियो। अहिले तेस्रोपटक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान अघि बढाएको छ।
विभागका उच्च स्रोतका अनुसार, अर्का व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेसँगै सुमार्गीमाथि अनुसन्धान थप तीव्र बनाइएको हो। सुरुमा भट्टसँगै सुमार्गीलाई पनि एकसाथ पक्राउ गर्ने तयारी थियो। तर, समय अभावका कारण पहिले भट्टको अनुसन्धान सकेर मात्र सुमार्गीमाथि कारबाही अघि बढाउने निर्णय भयो। सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका भट्टलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। त्यसपछि विभागले सुमार्गीको पालो फेरि ल्याएको छ।
सामान्य पृष्ठभूमि, असामान्य उचाइ
मकवानपुरको हेटौंडा मूलका सुमार्गी एक दशकभन्दा कम समयमा अर्बपति बनेका व्यक्ति हुन्। एक दशकमा एक दर्जन कम्पनीका सञ्चालक र अर्बौंका मालिक बनेका सुमार्गीको सम्पत्तिको स्रोत सफा नभएको विभिन्न प्रमाणहरूले देखाउँछन्। खासगरी तीनकुने थापाथली क्षेत्रका दर्जन ठाउँमा उनको घरजग्गा रहेको बताइन्छ। उनीमाथि लामो समयदेखि तत्कालिन माओवादीको पैसा चलाएको आरोप लाग्दै आएको छ। २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि उनको आर्थिक चलखेल ह्वात्तै बढेको उनका निकटहरुको दाबी छ।
सिमेन्ट, दूरसञ्चार, सञ्चारमाध्यम लगायतका क्षेत्रमा उनको लगानी फैलिएको छ। पावर लजिक नामक कोरियन कम्पनीका सीईओलाई गुण्डा प्रयोग गरी कुटपीट गरिएपछि ५० प्रतिशत साझेदारका रूपमा सुमार्गी त्यस उद्योगमा भित्रिएका थिए। यी घटनाहरूले नै उनको व्यापारिक उचाइको पृष्ठभूमि कस्तो छ भन्ने सङ्केत गर्छन्।
राष्ट्र बैंकले रोक्यो, अदालत गए र पर्यो सर्वोच्चको भर्त्सना
व्यवसायी सुमार्गीले मुक्तिश्री सिमेन्टका लागि भन्दै विदेशबाट भित्र्याएको रकम नेपाल राष्ट्र बैंकले रोक्का गरेपछि उनी अदालत गएका थिए। सुमार्गीले साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडसँग गरिएको सम्झौताअनुसार करिब १२ अर्ब रुपैयाँ विदेशी लगानीको रूपमा भित्र्याउन खोजेका थिए।
सर्वोच्च अदालतले यस प्रकरणमा सम्पत्ति शुद्धीकरण ऐन आकर्षित हुने स्पष्ट पारेको थियो। रकम पठाउने व्यक्ति आफैँ अजेयराज सुमार्गी रहेको र आफ्नै कम्पनीमा आफैँले पठाएको रकम शंकारस्पद रहेको अदालतको भनाइ थियो।
दुईपटक रोकियो, दुईपटक राजनीति बन्यो ढाल
विभागले २०७४ सालमा पनि सुमार्गीमाथि अनुसन्धान सुरु गरेको थियो। तर, त्यो बेला राजनीतिक दबाबका कारण अनुसन्धान प्रक्रिया नै रोकिएको थियो। त्यसपछि सर्वोच्च अदालतले हस्तक्षेप गर्यो। २०७५ पुसमा सर्वोच्च अदालतले सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण ऐनबमोजिम अनुसन्धान चलाउन आदेश दियो। तर अदालतको आदेश पनि काफी समय कागजमै सीमित रह्यो।
सुमार्गीको श्रीमतीका आफन्त शिशु अर्याल भण्डारीमार्फत अस्वाभाविक सम्पत्ति व्यवस्थापन भएको शंकामा वित्तीय जानकारी इकाइले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई औपचारिक अनुरोध गरेको थियो। तर त्यो पनि प्रभावशाली दबाबका कारण अघि बढेन।
तेस्रोपटक : अब रास्वपाको बलमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल सरकार बनाएको र विवादमा परेकाहरुलाई धमाधम छानबिन गर्दै पक्राउ गरिरहेको बेला सुमार्गीमाथि पनि अनुसन्धान अघि बढाइएको हो। रास्वपाको सरकारले भ्रष्टाचार निमूल पार्ने र कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै प्रतिनिधि सभामा करिब दुई तिहाईको नजिक सिट पाएको छ।
चैत १५ गते पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइसकिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरी सिआइबीलाई फाइल बुझाएर भट्टलाई पक्राउ गराई थप अनुसन्धान अघि बढाएपछि अब सुमार्गीमाथि छानबिन थप तीव्र पारिएको छ।
पछिल्लो समय सुमार्गी आर्थिक हिसाबले थलिएको भए पनि उनले धेरै ठाउँमा सम्पत्ति जोडेको र त्यो सम्पत्तिको स्रोत खोजिरहेको विभागले जनाएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पाँच अनुसन्धान अधिकृतको टोलीले सुमार्गीको सम्पत्तिमाथि छानबिन गरिरहेको जनाइएको छ।