काठमाडौं। विश्वव्यापी ऊर्जा संकटले अर्थतन्त्रमा गम्भीर दबाब सिर्जना गरिरहेका बेला बङ्गलादेशले तत्काल ऊर्जा आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ। प्रधानमन्त्री तारिक रहमानले विकास साझेदारसँग करिब दुई अर्ब डलर बराबरको आपतकालीन कोष माग गर्दै देशको आर्थिक स्थिरता जोगाउन सहयोग आवश्यक रहेको बताए।
एसिया शून्य उत्सर्जन समुदाय (एजेडइसी) प्लसको अनलाइन शिखर सम्मेलनमा उनले वर्तमान अवस्था गम्भीर रहेको उल्लेख गरे। 'हाम्रो सामुन्नेको परिस्थिति तत्काल, एकताबद्ध र निर्णायक कदमको माग गर्छ,' उनले भने, 'विशेषगरी कमजोर राष्ट्रका लागि तत्काल सहयोग हाम्रो साझा प्राथमिकता हुनुपर्छ।'
ऊर्जा संकटले विश्वव्यापी रुपमा सिर्जना गरेको अस्थिरताले बङ्गलादेशजस्ता विकासोन्मुख मुलुकलाई बढी प्रभावित बनाएको उनको भनाइ थियो। उनले कुनै पनि देशले यस्तो चुनौती एक्लै सामना गर्न नसक्ने स्पष्ट पार्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य भएको बताए।
प्रधानमन्त्री रहमानका अनुसार ऊर्जा अभावले बङ्गलादेशको अर्थतन्त्रमा प्रत्यक्ष असर पारिसकेको छ। त्यसको सामना गर्न सरकारले अल्पकालीन उपायहरू लागू गरेको जानकारी दिँदै उनले माग व्यवस्थापन, इन्धन आपूर्ति सुनिश्चितता र खपत नियन्त्रणका नीति अपनाइएको उल्लेख गरे।
सरकारी कार्यालय र बजार सञ्चालन समय सीमित गर्ने, आपतकालीन इन्धन आयात बढाउने तथा स्रोत विविधीकरण गर्ने, साथै इन्धनको रासनिङ र खुद्रा बिक्रीमा सीमा निर्धारण गर्ने जस्ता कदम चालिएका छन्।
इन्धन सञ्चय र अनावश्यक खरिद रोक्न ‘फ्युल एप’ जस्ता डिजिटल पहलहरू पनि सुरु गरिएको उनले जानकारी दिए। यस्ता उपायले तत्काल प्रभाव कम गर्न मद्दत गरे पनि दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय सहयोग अनिवार्य रहेको उनको जोड थियो।
प्रधानमन्त्री रहमानले वर्तमान संकटलाई सन् १९७० को तेल संकटभन्दा पनि गम्भीर हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे। उनका अनुसार त्यतिबेला देखिएको प्रभावले दशकौँसम्म विकास अवरुद्ध भएको थियो र अहिलेको परिस्थिति अझ जटिल बन्न सक्ने जोखिम छ।