वासिङ्टन डिसी। नेपाललाई विश्वको सफा ऊर्जामा आधारित डिजिटल पूर्वाधारको केन्द्र बनाउने महत्त्वाकांक्षी लक्ष्यसहित अमेरिकन च्याम्बर अफ कमर्स नेपाल (एम्च्याम नेपाल) को प्रतिनिधिमण्डलले अमेरिकाको राजधानी वासिङ्टन डिसीमा उच्चस्तरीय भेटघाट सम्पन्न गरेको छ। 'वासिङ्टन डोर नक' कार्यक्रमअन्तर्गत सम्पन्न यस मिसनले नेपाललाई कृत्रिम बौद्धिकता (एआई), ब्लकचेन र क्रिप्टो प्रविधिका लागि आवश्यक सफा ऊर्जाको विश्वस्तरीय आपूर्तिकर्ताका रूपमा स्थापित गर्ने दिशामा महत्त्वपूर्ण कदम चालेको छ।
प्रतिनिधिमण्डलमा एम्च्याम नेपालका संस्थापक अध्यक्ष अजित विक्रम शाह, मोघा एनर्जीका अध्यक्ष समरथ मोघा र एम्च्याम नेपालका कार्यकारी निर्देशक अमिर आर. थापा सहभागी थिए। यस टोलीले अमेरिकी विदेश विभाग, वाणिज्य विभाग, ऊर्जा विभाग, युएस ट्रेड एन्ड डेभलपमेन्ट एजेन्सी (युएसटीडीए) र युएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) सँग उच्चस्तरीय छलफल गर्यो।
यस मिसनको केन्द्रीय सोच भनेको नेपालको विशाल जलविद्युत् क्षमतालाई विश्वमा तीव्र रूपमा बढ्दो डाटा प्रशोधन, एआई कम्प्युटेसन र ब्लकचेन प्रविधिको ऊर्जा आवश्यकतासँग जोड्नु हो। सस्तो र प्रचुर नवीकरणीय ऊर्जा उपलब्ध हुने भएकाले नेपाल विशाल डाटा सेन्टर, एआई ट्रेनिङ, क्रिप्टो माइनिङ र क्लाउड कम्प्युटिङका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रतिनिधिमण्डलको दाबी छ।
एम्च्याम नेपालका संस्थापक अध्यक्ष अजित विक्रम शाह भन्छन्, 'ठूलो परिवर्तनका लागि साहसी सोच चाहिन्छ। नेपालले विश्वको आर्थिक परिवर्तनसँग कदम मिलाउनुपर्छ। सहायतामा नभई व्यापारमा भर पर्ने युग आउनुपर्छ।'
वासिङ्टन भ्रमणले थुप्रै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। युएसटीडीएले एआई र डाटा सेन्टर पूर्वाधारसम्बन्धी सम्भाव्यता अध्ययनमा सहयोग गर्ने चासो देखाएको छ भने डीएफसीसँग नेपाली उद्यम र डिजिटल पूर्वाधार विकासका लागि वित्तीय सहयोगको सम्भावनामा सकारात्मक कुराकानी भएको छ।
मिसनको अर्को उल्लेखनीय उपलब्धि भनेको युएस एनर्जी एसोसिएसनसँग मिलेर नेपालको जलविद्युत् क्षमतालाई विश्वका लगानीकर्तासँग जोड्ने 'युएस–नेपाल एनर्जी रोडसो' आयोजना गर्ने सहमति हो। संस्थाका प्रमुख मार्क डब्ल्यू. मेनेजेसले नेपालको भूमिकालाई विश्वव्यापी सफा ऊर्जा रूपान्तरणमा रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको बताए। प्रतिनिधिमण्डलले क्यापिटल हिलका संसद् सदस्यहरूसँग पनि भेट गरी नेपाल–अमेरिका ७८ वर्षे सम्बन्धलाई थप मजबुत बनाउन नेपाल समक्ष पुनर्स्थापनाको माग राख्यो।
विश्व बैंक, एडीबी र युएस च्याम्बरसँग पनि छलफल
प्रतिनिधिमण्डलले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) सँग पनि भेटघाट गर्यो। यी छलफलमा नीतिगत सुधार, नियामक आधुनिकीकरण र निजी क्षेत्रको नेतृत्वमा आर्थिक विकासका विषय केन्द्रमा रहे। युएस च्याम्बर अफ कमर्सका दक्षिण एसिया हेर्ने वरिष्ठ उपाध्यक्ष राजदूत (अव.) अतुल केशपले नेपालको राजनीतिक परिपक्वता र लगानीको अवसरप्रति आशावाद व्यक्त गर्दै संस्थागत र निजी क्षेत्रको सहकार्य अझ गहिरो बनाउन प्रोत्साहन गरे।
एमसीसी प्रसारण लाइन जस्ता पूर्वाधार अघि बढ्दै गरेको यस अवसरमा नेपालले सफा ऊर्जा निर्यात गर्दै आफ्नै डिजिटल अर्थतन्त्र पनि सशक्त बनाउन सक्ने प्रतिनिधिमण्डलको ठहर छ। मोघा एनर्जीका अध्यक्ष समरथ मोघा भन्छन्, 'डाटाको भोकाएको दुनियाँमा नेपालसँग सफा ऊर्जाको विशाल भण्डार छ। जलविद्युत्लाई एआई र ब्लकचेनसँग जोड्न सकियो भने नेपाल ऊर्जा निर्यातकमात्र होइन, भविष्यको विश्व अर्थतन्त्रको डिजिटल मेरुदण्ड बन्न सक्छ।'