काठमाडौं। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले केरा उत्पादक किसानसँग भेटवार्ता गरेका छन। मन्त्री चौधरीले किसानसँगको भेटवार्तामा केरा उत्पादन, बजारीकरण, मल आपूर्तिलगायत विषयमा छलफल भएको हो।
मन्त्री चौधरीले किसान टिक्न सके मात्र कृषि क्षेत्र टिक्ने उल्लेख गर्दै बीमा, उत्पादन र बजार व्यवस्थापनमा समन्वयात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिए। मन्त्री चौधरीका अनुसार नेपालमा उत्पादन हुने कृषि उपजलाई प्राथमिकता दिनु आवश्यक छ भने आपूर्ति व्यवस्थामा पारदर्शिता कायम गर्नुपर्ने बताइन्।
विश्व बजारमा रासायनिक मलको अभाव देखिए पनि सरकारले यसको सहज आपूर्तिका लागि पहल गरिरहेको मन्त्री चौधरीले जानकारी दिए। ‘अभावको बहानामा मूल्य वृद्धि गर्नु वैधानिक होइन, कालोबजारी नियन्त्रणमा सबैको सहयोग आवश्यक छ,’ मन्त्री चौधरीले भने।
मन्त्रीले कृषि उत्पादनसँगै बजारीकरणमा पनि सरकारले सहजीकरण गरिरहेको स्पष्ट पारेकी छन्। उपभोक्तालाई मार पर्ने गरी मूल्य वृद्धि नहुने गरी किसानले उत्पादन र आपूर्तिमा ध्यान दिनुपर्ने बताइन्।
केरा खेतीमा संलग्न किसानहरूले सीमामा कडाइ, मल अभाव र बजार मूल्यमा अस्थिरताका कारण समस्या भोग्नु परेको बताएका छन्। केही किसानले केरा उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य भए पनि आवश्यक प्रविधि, मल र नीति सहयोग अभाव रहेको उल्लेख गरे।
कार्यक्रममा किसानले ५० लाख रुपैयाँसम्मको लगानीमा ८० प्रतिशत बिमा सुविधा भए पनि भुक्तानी प्रक्रिया प्रभावकारी नभएको गुनासो गरेका थिए। एक वर्ष बित्दा पनि बीमा दाबी भुक्तानी नहुने समस्या रहेको उनीहरूले बताएका छन्।