काठमाडौं। भैरहवास्थित युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स्ड स्टडिज एन्ड रिसर्च प्रालिको व्यावसायिक ग्राफ उकालो लागेको छ। पछिल्लो ५ वर्षमा व्यापारमा निरन्तर वृद्धि गरेसँगै कम्पनीले बैंकहरूबाट लिएको १ अर्ब ३० करोड रुपैयाँ ऋणको साख मूल्यांकन (क्रेडिट रेटिङ) मा समेत सुधार आएको हो।
सन् २०२५ मा मात्रै कम्पनीले आफ्नो कुल ऋण भार करिब २५ प्रतिशतले घटाएको छ। समयमै सावाँ र ब्याज भुक्तानी गर्ने क्षमतामा सुधार आएका कारण क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले समेत यसको साख मूल्यांकनमा स्तरोन्नति गरेको छ।
इक्रा नेपालले कम्पनीको २० करोड रुपैयाँको दीर्घकालीन ऋणलाई ‘एल डबल बी’ बाट ‘एल त्रिपल बी माइनस’ र १ अर्ब १० करोड रुपैयाँको अल्पकालीन ऋणलाई ‘ए फोर’ बाट ‘ए थ्री’ रेटिङ प्रदान गर्दै साख स्तरोन्नति गरेको छ। जसले कम्पनीको वित्तीय जोखिम कम हुँदै गएको स्पष्ट पार्छ।
सन् १९९८ मा स्थापना भएको यो कम्पनीले रुपन्देहीको सिद्धार्थनगरमा ५०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्दै आएको छ। कम्पनीको प्रमुख सेयरधनी एभरेष्ट कलेज अफ मेडिकल साइन्सेज हो, जसको स्वामित्व करिब ६० प्रतिशत छ। साथै, लर्ड बुद्ध एजुकेसन एकेडेमीको ३८ प्रतिशत हिस्सा छ। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अनुभवी व्यवसायी रमेश शर्मा रहेका छन्।
इक्रा नेपालका अनुसार कम्पनीको सञ्चालन आम्दानीमा पछिल्लो ५ वर्षमा उत्साहजनक वृद्धि देखिएको छ। आर्थिक वर्ष २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी क्रमशः बढ्दै गएको छ।
आव २०२२ मा १ अर्ब ३९ करोड २० लाख, आव २०२३ १ अर्ब ४३ करोड ७० लाख, आव २०२४ १ अर्ब ५५ करोड ३० लाख र आव २०२५ मा १ अर्ब ६३ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ।
कम्पनीको आम्दानीको मुख्य स्रोत अस्पतालको सेवा शुल्क, फार्मेसी बिक्री र मेडिकल कलेजको शैक्षिक शुल्क हुन्। विशेषगरी एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ र बी फर्माजस्ता कोर्षमा विद्यार्थीको आकर्षण र यसै वर्षदेखि एमबीबीएसको सिट संख्या १०० बाट बढेर १२० पुगेकाले आगामी दिनमा आम्दानी थप बढ्ने देखिएको छ।
वित्तीय सूचक हेर्दा कम्पनी बलियो देखिएको छ। सन् २०२५ मा कम्पनीको सञ्चालन मुनाफा २५.३ प्रतिशत रहेको छ। ऋण तिर्न सक्ने क्षमता दर्शाउने सूचक ‘इन्ट्रेस्ट कभरेज’ ३.७ गुणा र ‘डेट सर्भिस कभरेज रेसियो’ १.९ गुणा रहेको छ, जसलाई पर्याप्त मानिन्छ।
त्यस्तै, कुल ऋण र मुनाफाको अनुपात ३.७ गुणाबाट सुधार भएर २.८ गुणामा झरेको छ। व्यापार बढे पनि कम्पनीसामु केही गम्भीर चुनौती कायमै छन्। सन् २०१७ मा पुराना लेखासम्बन्धी ठूला त्रुटि सच्याउँदा कम्पनीको जगेडा कोष ऋणात्मक हुन पुगेको थियो, जसको असर अहिले पनि पूँजीगत संरचनामा देखिन्छ।
सन् २०२४ मा ६.१ गुणा रहेको गियरिङ रेसियो सन् २०२५ मा ३.१ गुणामा झरेको भए पनि यो अझै केही उच्च नै छ। अर्को मुख्य चुनौती भनेको सरकारको स्वास्थ्य बिमा योजनाअन्तर्गतको रकम भुक्तानीमा हुने ढिलाइ हो। सोही कारण कम्पनीको कार्यशील पुँजी व्यवस्थापनमा दबाब पर्न सक्ने देखिएको छ।
साथै, निजी क्षेत्रका अन्य अस्पतालसँगको तीव्र प्रतिस्पर्धा र चिकित्सा शिक्षामा हुने नियामक परिवर्तन पनि कम्पनीका लागि जोखिमका विषय हुन्।
तथापि अनुभवी व्यवस्थापन, ठूलो पूर्वाधार र चिकित्सा शिक्षामा नेपाली तथा विदेशी विद्यार्थीको बढ्दो आकर्षणले गर्दा युनिभर्सल मेडिकल कलेजको व्यावसायिक साख आगामी दिनमा थप मजबुत हुने अपेक्षा गरिएको छ।