काठमाडौं। नेपाल चिनी उद्योग संघले सरकारले सीमा नाकाबाट हुने अवैध आयातमाथि गरेको कडाइलाई निरन्तरता दिन आग्रह गरेको छ। संघले शतप्रतिशत स्वदेशी कृषिजन्य उद्योगका रुपमा स्थापित स्वदेशी चिनी उद्योगको संरक्षण र सीमानाकामा हुने अनधिकृत/अनियन्त्रित चिनी आयात रोकमा सरकारले चालेको कदमको स्वागत गरेको हो।
संघले स्वदेशी उखु कृषक तथा चिनी उद्योगको संरक्षण गरी राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सरकारी कदमको निरन्तरताका लागि आग्रह गरेको छ। संघका अनुसार हाल स्वदेशमा चिनी उत्पादन गर्ने उद्योग १३ वटा सञ्चालनमा रहेको, प्रत्यक्ष÷अप्रत्यक्ष गरी ठूलो संख्यामा रोजगारी सिर्जना गरेको र उखु खेतीमा आबद्ध करिब ६०,००० कृषक परिवारले सरकारी पहलबाट प्रत्यक्ष राहत पाउनेछन्।
स्वदेशी मागलाई पूरा गर्न उद्योग निरन्तर लागिपरेको संघले जनाएको छ। नेपाल र भारतबीचको खुला सीमाका कारण सीमावर्ती क्षेत्रमार्फत कर नतिरी भइरहेको अनधिकृत÷अनौपचारिक आयातले स्वदेशी उद्योगको उत्पादन चिनीको बिक्री वितरणमा प्रतिकूल असर परी आन्तरिक बजारमा बिक्री वितरण नहुँदा कृषकलाई भुक्तानीमा गम्भिर समस्या परेको तथा बैंकबाट उद्योगले पाउने ऋणको सीमासमेत नाघिसकेको र आर्थिक तरलता अभावमा उद्योग रुग्ण अवस्थामा पुगेको संघको भनाइ छ।
यस्तो अवस्थामा सीमा व्यवस्थापन कडा हुनु, कर छली घट्नु र नियमानुसार मात्र सामान भित्रिँदा कृषक, उद्योग, रोजगार र राजस्व सबै पक्षका लागि सकारात्मक कदम रहेको संघको धारणा छ। सीमानाकामा कडाइ भए वस्तु आयात भए स्वदेशी उत्पादन समयमै बिक्री वितरण भई कृषकलाई सरल एंव सहज रुपमा भुक्तानी हुने, बैंकको सावाँब्याजसमेत समयमै भुक्तानी भई आर्थिक रुपमा कृषक, उद्योग र सरकार तीनै पक्ष लाभान्वित हुने संघको दाबी छ।
स्वदेशी उत्पादन प्रयोग गर्नु भनेको कृषकलाई प्रोत्साहन, कृषिजन्य उद्योग सञ्चालन, रोजगारी सिर्जना, देशलाई आत्मनिर्भर बनाई राष्ट्रिय अर्थतन्त्रमा योगदान दिनुसमेत रहेको ठहर संघको छ।