काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकका मागलाई बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले सरकारले कतिपय निर्णय कानून मिचेर ‘लहडका भरमा’ गरिरहेको आरोप लगाए।
सभापति थापाले भदौ २४ गतेको आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष र न्यायिक छानबिन गर्न सरकारसँग माग गरे। ‘हामीले भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गरेका छौं,’ थापाले भने, ‘सरकारले हाम्रा मागहरू पूरा गरेन भने ती माग कसरी पूरा गराउने र आवाजलाई कसरी ठूलो बनाउने भन्ने हामीलाई राम्रोसँग थाहा छ।’ सरकारलाई सचेत गराउँदै उनले कुनै पनि नेपाली नागरिकमाथि अनुसन्धान गर्ने सरकारको अधिकारलाई कांग्रेसले सम्मान गर्ने बताए। तर,अनुसन्धानका नाममा राज्यका निकायहरूले कानूनको पालना गर्नुपर्ने उनको भनाइ थियो।
‘पछिल्लो समय सरकारले आफ्ना मनमा लागेका कुरा गर्न विधि र विधान मिच्ने काम गरेको छ, यस्ता विषयमा हामीले सरकारको ध्यानाकर्षण गराएका छौं,’ थापाले थपे। कांग्रेसको भूमिकाबारे प्रष्ट पार्दै थापाले भने, ‘हामी संघीय संसद्मा प्रतिपक्षमा छौं तर सातै प्रदेशमा सरकारमा छौं। केन्द्रीय कार्यसमितिको बैठकबाटै हामीले निर्णय गरेका छौं कि सरकारका राम्रा काममा हाम्रो समर्थन रहन्छ।’
उनले प्रतिपक्षी भएर कुरा उठाउँदा तथ्यमा आधारित भएर उठाउने पनि बताए। जनहितका विषयमा सरकार चुक्दा कांग्रेस दरो भएर उभिने उनको भनाइ छ। कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निभाउन नसकेको हो भन्ने प्रश्नमा उनले तथ्यका आधारमा आवाज उठाउने उनले बताएका हुन्।
‘हामी अराजक वा चर्को छैनौं, त्यसैले कतिपयलाई हाम्रो आवाज कम सुनिएको जस्तो लाग्न सक्छ। तर हामी जिम्मेवार छौं र जहाँ जुन विषय उठाउनुपर्ने हो, त्यहाँ उठाइरहेका छौं।’ गृहमन्त्री सुधन गुरुङको विषयमा भने थापाले पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको भन्दै धेरै टिप्पणी गर्न चाहेनन्। उनले भने, ‘गृहमन्त्रीको विषयमा पार्टीले जे भन्नुपर्ने हो, भनिसकेको छ।’ यस्तै, उनले पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरे।