काठमाडौं। मोरङको विराटनगरमा सञ्चालित प्याकेजिङ तथा कागज उद्योग ‘अरिहन्त अटो कोरुगेसन’को व्यापारमा उल्लेख्य सुधार देखिएको छ। कम्पनीले आर्थिक वर्ष २०२५ मा ३ अर्ब ६४ करोड ८० लाख रुपैयाँ बढीको व्यापार गरेपछि क्रेडिट रेटिङ एजेन्सीले साखसमेत बढाएको छ।
उत्पादन क्षमतामा गरिएको विस्तार र बजार विविधीकरणका कारण कम्पनीको वित्तीय अवस्था बलियो बन्दै गएपछि क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यसको क्रेडिट रेटिङलाई ‘सकारात्मक’ निगरानीमा राखेको छ।
केयर रेटिङले कम्पनीको कुल ३ अर्ब १९ करोड ११ लाख रुपैयाँ बराबरको बैंकिङ सुविधाका लागि गरिएको रेटिङलाई ‘क्रेडिट वाच विथ पोजिटिभ इम्प्लिकेसन्स’मा राखेको हो। यसअघि कम्पनीको दीर्घकालीन कर्जाका लागि ‘बीबी प्लस’ र अल्पकालीन कर्जाका लागि ‘ए-फोर प्लस’ रेटिङ प्रदान गरिएको थियो। व्यापार र नाफामा भएको वृद्धिका कारण आगामी दिनमा यो रेटिङ अझै माथिल्लो तहमा पुग्न सक्ने संकेत देखिएको छ।
आर्थिक वर्ष २०२४/२५ मा कम्पनीको सञ्चालन आम्दानी करिब ४२ प्रतिशतले बढेर ३ अर्ब ६४ करोड ८० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ५६ करोड २० लाख रुपैयाँ मात्र थियो। साथै, कम्पनीले आव २०२३ मा २ अर्ब ५१ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। कोरुगेटेड बक्स, क्राफ्ट पेपर, डुप्लेक्स पेपर र हालै सुरु गरिएको पेपर कपको बिक्रीमा आएको बढोत्तरीले आम्दानीमा ठूलो टेवा पु¥याएको रिपोर्टमा उल्लेख छ।
व्यापारसँगै कम्पनीको नाफा कमाउने क्षमतामा पनि निकै सुधार आएको छ। आर्थिक वर्ष २०२४ मा ७ करोड १० लाख रुपैयाँ मात्र रहेको खुद नाफा सन् २०२५ मा झण्डै तीन गुणाले बढेर २० करोड १० लाख रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन पनि १४.३९ प्रतिशतबाट बढेर १५.११ प्रतिशत पुगेको रिपोर्टले देखाउँछ।
कम्पनीको ऋण सुविधाको सीमा २ अर्ब ५६ करोडबाट बढाएर ३ अर्ब १९ करोड पु¥याइएको छ। ऋणको आकार ठूलो भए तापनि नाफा बढेका कारण ऋण तिर्न सक्ने क्षमतामा सुधार आएको छ। कम्पनीको गियरिङ रेसियो २०२४ मा ३.५२ गुणा रहेकोमा २०२५ मा घटेर २.९८ गुणामा झरेको छ। यसैगरी, ब्याज कभरेज अनुपात २.१८ गुणाबाट सुधारिएर ३.१४ गुणा पुगेको छ, जसले कम्पनी बैंकको ब्याज र किस्ता तिर्न सक्षम हुँदै गएको पुष्टि गर्दछ।
सन् २०१० मा निजी कम्पनीका रूपमा स्थापना भई २०२३ मा पब्लिक लिमिटेडमा परिणत भएको यो उद्योगले ‘प्योर’ ब्रान्डमा टिस्यु पेपर समेत उत्पादन गर्दै आएको छ। विराटनगर ९ मा रहेको यसको उद्योगले विभिन्न ठूला एफएमसीजी ब्रान्डहरूलाई प्याकेजिङ सामग्री आपूर्ति गर्दछ।
अनुभवी व्यवसायी पारस लुनियाको नेतृत्वमा रहेको यो कम्पनीमा अरिहन्त ग्रुपका अरिहन्त इम्पोर्ट एण्ड एक्सपोर्ट, अरिहन्त प्याक इन्ड्रस्ट्रिज, अरिहन्त इन्ड्रस्ट्रियल एण्ड कमर्सियल इन्भेष्टमेन्ट र रियल स्टेट डेभलपर्सको करिब १७ प्रतिशत संस्थागत सेयर हिस्सा रहेको छ।
वित्तीय अवस्था सुधारोन्मुख भए पनि केही जोखिमहरू कायमै रहेका छन्। उद्योगको कुल उत्पादन लागतको ७८ प्रतिशत हिस्सा कच्चा पदार्थमा खर्च हुने गर्दछ। कच्चा पदार्थका लागि भारत र चीनमा निर्भर रहनुपर्ने र डलरको भाउमा हुने उतारचढावले नाफालाई प्रभावित पार्न सक्ने देखिन्छ। यस्तै, कम्पनीको कार्यशील पुँजी चक्र १२८ दिनको छ, जसका कारण व्यवसाय सञ्चालनका लागि बैंक ऋणमा बढी निर्भर हुनुपर्ने बाध्यता छ।
आगामी दिनमा व्यापारको आकारलाई टिकाइराख्ने, कार्यशील पुँजीको प्रभावकारी व्यवस्थापन गर्ने र बढ्दो प्रतिस्पर्धाका बीच नाफाको मार्जिन जोगाउनु नै अरिहन्त अटो कोरुगेसनका लागि मुख्य चुनौती हुने रेटिङ रिपोर्टले औंल्याएको छ। हालै सञ्चालनमा आएको ल्यामिनेटेड ऊड र क्राफ्ट पेपरको दोस्रो युनिटले कम्पनीको वित्तीय अवस्थालाई थप स्थिरता दिने अपेक्षा गरिएको छ।