काठमाडौं। गणपति एग्रो प्रोडक्ट प्रोसेसिङले एक वर्षमै एक अर्ब बढीको व्यापार गरेको छ। सर्लाहीको ईश्वरपुरमा प्लान्ट रहेको खाद्यन्न प्रशोधन गर्ने यो उद्योगले आर्थिक वर्ष २०२५ मा १ अर्ब ४ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो। उद्योगले आव २०२४ मा ८७ करोड २० लाख र आव २०२३ मा ८४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो।
एक वर्षको अवधिमा उद्योगको व्यापार १९ प्रतिशतले वृद्धि भएपछि क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले उद्योगको रेटिङ पुनः पुष्टी गरेको छ। केयर रेटिङ्स नेपालले कम्पनीको कुल ६२ करोड रुपैयाँ बराबरको बैंकिङ सुविधाका लागि रेटिङ पुनःपुष्टि गरेको छ। तर, यसअघिको ऋण सीमा भने घटाइएको छ।
यसअघि उद्योगले उपयोग गरिरहेको साढे २३ करोड दीर्घकालीन कर्जा घटाएर साढे १८ करोड कायम गरी ‘डबल माइनस’ र साढे ४६ करोड रुपैयाँको अल्पकालिन ऋणलाई घटाएर साढे ४३ करोड रुपैयाँ कायम गरी ‘एफोर’ रेटिङ पुनः पुष्टी गरिएको छ।
कम्पनीको व्यापार बढे पनि नाफाको मार्जिनमा भने केही गिरावट आएको छ। सन् २०२४ मा ७.३८ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा घटेर ६.४० प्रतिशतमा खुम्चिएको छ। अत्यधिक प्रतिस्पर्धा र कम मूल्य अभिवृद्धि हुने व्यवसाय भएकाले नाफामा दबाब परेको रेटिङ रिपोर्टमा उल्लेख छ।
कम्पनीको पुँजी संरचना अझै पनि ऋणमा बढी निर्भर देखिएको छ। सन् २०२५ को अन्त्यसम्म कम्पनीको ओभरअल गियरिङ रेसियो २.९६ गुणा छ। जुन अघिल्लो वर्ष २.७८ गुणा थियो। कार्यगत पुँजीका लागि लिइएको ऋणका कारण यो सूचक बढेको हो। यद्यपि, ब्याज भुक्तानी क्षमतामा भने सामान्य सुधार भई १.६५ गुणा पुगेको छ।
धान र चामलको व्यवसाय मौसमी प्रकृतिको हुने भएकाले कम्पनीले ठूलो मात्रामा मौज्दात राख्नुपर्ने हुन्छ। सन् २०२५ मा कम्पनीको ‘अपरेटिङ साइकल’ २०८ दिनको रहेको छ, जुन अघिल्लो वर्ष १९५ दिन थियो। कम्पनीले औसत १४५ दिनसम्म सामान स्टकमा राख्ने गरेको छ। ग्राहकबाट पैसा उठाउन ७० दिन लाग्ने गरेको छ। यसले गर्दा कम्पनीको नगद प्रवाहमा दबाब पर्ने र बैंक ऋणमा बढी निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ।
कम्पनीका सबल र दुर्बल पक्षहरू
रिपोर्टअनुसार, कम्पनीको मुख्य सबल पक्ष भनेको यसको अनुभवी नेतृत्व र बजार सञ्जाल हो। सञ्चालक अर्जुन कुमार शाहको यस क्षेत्रमा ४ दशक लामो पारिवारिक अनुभव छ।
कम्पनीले ‘सायरा’, ‘गणपति भोग’, ‘साहसी’ र ‘हिम गंगा’ जस्ता ब्राण्डमा चामल बिक्री गर्दै आएको छ। ८० भन्दा बढी ठूला ग्राहकसँगको व्यावसायिक सम्बन्ध र कच्चा पदार्थको सहज उपलब्धता हुने तराई क्षेत्र (सर्लाही)मा उद्योग हुनु कम्पनीका लागि सकारात्मक पक्ष हुन्।
नेपालमा चामल मुख्य खाद्यान्न रहेकाले यसको माग सधैँ स्थिर रहने देखिन्छ। तर, बजारमा हुने तीव्र प्रतिस्पर्धा, कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव र बैंकको अस्थिर ब्याजदरले कम्पनीको आगामी नाफालाई प्रभावित पार्न सक्ने जोखिम पनि उत्तिकै छ।
सन् २०१७ मा स्थापना भएको यो उद्योगको क्षमता प्रतिघण्टा ८ मेट्रिक टन धान कुटानी गर्ने रहेको छ। आगामी दिनमा ऋणको भार कम गर्दै नाफामा सुधार गर्नु कम्पनीका लागि मुख्य चुनौती रहने केयर रेटिङ नेपालको विश्लेषण छ।