काठमाडौं। सिंहदरबारमा नेपाली कांग्रेससहित विपक्षी दलको बैठक बसेको छ। बैठकले सरकारसमक्ष विभिन्न ९ बुँदे माग राखेको छ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको हो।
बैठकले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा रहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई उचित विकल्प र पहिचानबिना हटाउन लागिएको भन्दै आपत्ति जनाएको छ।
दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले जनताको भान्सा महँगो भएको भन्दै तत्काल महँगी नियन्त्रण गर्न र सुपथ मूल्यका पसल सञ्चालन गर्न माग गरिएको छ। अन्तर्राष्ट्रिय द्वन्द्वका कारण रासायनिक मलको थप अभाव हुन सक्ने देखिएकाले बर्खे सिजनका लागि समयमै मलको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ।
झापा, मोरङ, सुनसरी, चितवन र काठमाडौँमा फैलिएको बर्डफ्लुका कारण क्षति बेहोरेका किसानलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ। यस्तै, उपभोक्तालाई राहत प्याकेज घोषणा गर्न माग गरिएको छ।
बैठकले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तयारीमा प्रतिपक्ष दलहरूलाई पूर्ण रूपमा बेवास्ता गरिएको भन्दै सबै पक्षको आवाज सुनिने गरी पारदर्शी र लोकतान्त्रिक तरिका अपनाउन आग्रह गरेको छ।
बैठकमा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापा र नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालको सहभागी थिए।