काठमाडौं। आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएको पशुपति क्षेत्रमा साउनको दोस्रो सोमबारको तयारीस्वरूप सफाइ गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरूप विगत तीन हप्ताअघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो। सफाइको तेस्रो साता आज पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्य रहनुभएका स्थानीयवासी एव पशुपतिका भण्डारी केदारमान भण्डारीले राससलाई जानकारी दिए।
आजको सफाइका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोकाअघिको क्षेत्र एवं मूल ढोका प्रवेश मार्ग क्षेत्रमा पनि सफाइ गरिएको उनले बताए। भकुण्डोल, वनकाली, हंसमण्डप, पञ्चदेवल पूर्व हुँदै राजराजेश्वरी, क्रियापुत्री भवन, सुमार्गी भवनका साथै कपाली समुदायको समाधिस्थललगायत क्षेत्रमा पनि सफाइ गरिएको छ।
सफाइमा कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरू, कोषका कर्मचारी, स्थानीय सङ्घ संस्थालगायत स्थानीयवासीको पनि सक्रिय सहभागिता रहेको पनि उनले सुनाए।
यो वर्ष साउन महिनामा चार वटा सोमबार परेको छ। पहिलो सोमबार साउन ४ गते सम्पन्न भइसकेको छ। यसैगरी, साउनको ११, १८ र २५ गते पनि सोमबार परेको छ। बाँकी तीन वटै सोमबार भक्तजनलाई सहज रूपमा पशुपतिनाथ मन्दिरभित्र पूजा, आराधना एवं दर्शन गराउने उद्देश्यले यो सफाइ गरिएको हो।