काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाएका छन्। नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले अध्यादेश ल्याउन पाउने भएपनि त्यसको प्रक्रिया हुने बताए।
उनले भने, ‘यो त नयाँ काम गर्छु भनेर आएको छ, उसले कानुनले शासन गर्ने सोचिएको छ, मसँग कानुन बदल्ने अधिकार छ बदल्दिन्छु, ठोक्दिन्छु, हान्दिन्छु, मलाई चिन्ता लागिरहेको छ, जसरी काम भइरहेको छ यसले ठिक ठाउँमा लाँदैन।’ उनले मन लागे कानुन बनाउँछु नलागे बनाउँदिन भन्न नपाइने बताए।
उनले अगाडि भने, ‘सरकारले अध्यादेश ल्याउन पाउँछ, म सरकारले अध्यादेश ल्याएर शासन गर्न पाइँदैन भन्दिनँ, हिजो हामीले पनि ल्याएका हौँ, संविधानले अधिकार दिएको छ, कहिलेकाहीँ कार्यकारीले आवश्यकताअनुसार काम गर्नको लागि ल्याउँछ।
तर त्यसको पनि एउटा आधार हुन्छ।’ उनले सरकारले भदौ २४ को वितण्डाबारे छानबिन गर्न पहिला आयोग बनाउँछु भनेपनि पछि नबनाएको भन्दै आपत्ति जनाए।