काठमाडौं। नेपालको पूर्वी सीमा जोडिएको भारतीय राज्य पश्चिम बंगाल विधानसभामा भारतीय जनता पार्टीले प्रारम्भिक अग्रता लिएको छ।
सोमबार बिहान ८ बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक चरणमा भाजपाले १५७ सिटमा अग्रता लिएको छ भने पश्चिम बंगालमा सत्तारुढ ममता बनर्जीको पार्टी अल इन्डिया त्रिणमूल कांग्रेस (टीएमसी)सहितका गठबन्धन उम्मेदवार ९५ सिटमा अगाडि रहेको भारतीय समाचार माध्यमले जनाएका छन्।
वामपन्थी गठबन्धन २ सिटमा अगाडि छन्। पश्चिम बंगालमा दुई चरणमा मतदान भएको थियो। यहाँ १५ वर्षदेखि ममता बनर्जीको टिएमसी सत्तामा छ।
लामो समयको कम्युनिस्ट वर्चस्व अन्त्य गर्दै सन् २०११ मा अल टिएमसी सत्तामा आएको थियो। २०१६ को चुनावमा प्रतिस्पर्धामै नदेखिएको भाजपाले २०२१ मा सामान्य टक्कर दिएको थियो। यसपालिको विधानसभा चुनावमा टीएमसी र भाजपाबीच कडा टक्कर हुने एक्जिट पोलको थियो।
पश्चिम बंगालको २९४ सिट रहेको विधानसभामध्ये २९३ सिटको मतपरिणाम आज सार्वजनिक हुनेछ। बहुमतका लागि १४८ सिट आवश्यक पर्छ।
यस्तै, तामिल नाडुमा सत्तारुढ डीएमकेसहितको गठबन्धनले सुरुआती अग्रता लिएको छ। डीएमकेले त्यहाँ कांग्रेस आईसँग गठबन्धन गरेको छ। भाजपासहितको गठबन्धन तेस्रो स्थानमा छ।
केरलमा युनाइटेड डेमोक्र्याटिक फ्रन्ट (युडीएफ)ले सुरुवाती अग्रता कायम गरेको छ। लेफ्ट डेमोक्र्याटिक फ्रन्ट (एलडीएफ) दोस्रो र भाजपासहितको एनडीए गठबन्धन तेस्रो स्थानमा छ।
आसाममा भाजपासहितको एनडीए अगाडि छ। कंग्रेस आईसहितको गठबन्धन दोस्रो स्थानमा छ। १२६ सदस्यीय आसाममा बहुमतका लागि न्यूनतम ९४ सिट आवश्यक पर्छ।
पन्डेचरीमा पनि भाजपासहितको एनडीए अगाडि छ। डिएमके र कंग्रेस आईसहितको गठबन्धन दोस्रो स्थानमा छ। ३० सदस्यीय पुडेचेरी विधानसभामा जितका लागि कम्तीमा १३ सिट जित्नुपर्छ।