काठमाडौं। संसद्को प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्दै छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक आज दिउँसो ३ः०० बजे बस्न लागेको जानकारी दिएका हुन्।
बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्यसचिव दुलालले बताए। उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यलाई निर्देशन दिइएको छ।
बैठकमा समसामयिक राजनीतिक र सरकारका कामकारबाहीबारे छलफल हुने बुझिएको छ।
पार्टीभित्र संसद्सम्बन्धी काम, रणनीति र समन्वयका लागि कांग्रेसले बोर्ड गठन गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार पार्टी सभापतिले बोर्डको नेतृत्व गर्नेछन्। प्रतिनिधिसभा र राष्ट्रिय सभाका संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतकहरू र महामन्त्रीहरू बोर्डमा रहन्छन्।
संसदीय समितिमा रहेका प्रमुख, कांग्रेस नेता र वरिष्ठ नेताहरूलाई पनि आवश्यकताअनुसार बोर्डमा रहने व्यवस्था छ।
बोर्डले संसद्मा पार्टीको एकीकृत धारणा तय गर्ने, विधेयक, नीति, गठबन्धन वा रणनीतिमा समन्वय गर्ने गर्छ। सांसद र पार्टी नेतृत्वबीच सम्पर्क सेतुको काम बोर्डले गर्ने गर्छ।