काठमाडौं। उद्योगी, व्यवसायीको संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। महासंघको विधानअनुसार आज प्रज्ञा भवनमा नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको हो।
महासंघको हालको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ। सोही व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अबको नयाँ कार्यकालका लागि महासंघको अध्यक्ष बन्ने निश्चित भएको छ।
अध्यक्ष पद स्वतः निश्चित भए पनि अन्य विभिन्न पदाधिकारी पदका लागि भने तीव्र प्रतिस्पर्धा छ। निर्वाचनमा दुई प्यानलबाट उम्मेदवार चुनावी मैदानमा छन्।
वरिष्ठ उपाध्यक्षसहितका अन्य कार्यकारी पदमा आफ्नो समूहको जितका लागि दुवै समूहका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ।
महासंघको आगामी नेतृत्वका लागि भावी अध्यक्ष अन्जन श्रेष्ठ र र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह प्रतिस्पर्धामा छन्।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हुँदा संशोधित विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन। वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यसमितिबाट चयन गरिने हुँदा आज उपाध्यक्ष र कार्यसमिति सदस्यमा मात्र निर्वाचन हुनेछ।
यसपटक वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भावी अध्यक्षका रूपमा महासंघको नेतृत्व गर्नेछन् भने बाँकी ४ उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुनेछ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीबीच निर्वाचन भइरहेको हो। महासंघमा जिल्ला÷नगर, वस्तुगत र एसोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ।