काठमाडौं। सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर सञ्चालनमा रहेका ३११ उद्योगका विभिन्न उत्पादनले नेपाल गुणस्तर (एनएस) चिह्न पाएका छन्। नेपाल गुणस्तर तथा नापतौल विभागले देशभरका विभिन्न उत्पादनमूलक उद्योगको गुणस्तर प्रमाणीकरणसहित एनएस चिह्न दिएको सूची सार्वजनिक गरेको हो।
विभागका अनुसार खाद्यान्न, ग्यास सिलिन्डर, फलामे डन्डी, पेन्ट्स, पीभीसी पाइप, बिजुली तार, सिमेन्टलगायत दैनिक उपभोग्य तथा निर्माण सामग्रीको गुणस्तर परीक्षण गरी इजाजतपत्र दिइएको हो।
सूचीअनुसार निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगले सबभन्दा बढी गुणस्तर चिह्न पाएका छन्। जगदम्बा, अर्घाखाँची, सर्वोत्तम, घोराही, अग्नि, सौर्य, बृज र होङ्सी, शिवम् सिमेन्टलगायत ५० बढी उद्योगले ओपीसी, पीपीसी र पीएससी सिमेन्टमा एनएस चिह्न पाएका छन्।
यस्तै, फलाम र स्टीलका उद्योगमध्ये जगदम्बा स्टील, पञ्चकन्या, हुलास वायर, अशोक स्टील, हामा आइरन, लक्ष्मी स्टीलका छड तथा तारले एनएस पाउन सफल भएका छन्। विवरणअनुसार पशुपति पेन्ट्स, एसियन पेन्ट्स, बर्जर, रिलायन्स र जस्मिन पेन्ट्सले विभिन्न श्रेणीका रङका लागि गुणस्तर चिह्न पाएका छन्।
खाद्यान्ततर्फ नेबिको बिस्कुट, सीजी फुड्स (वाईवाई चाउचाउ), र स्वस्तिक आयलका घ्यू तथा तेल, दुगड स्पाइसका मसला, एग्रो प्रोसेसिङका तेल र विभिन्न मिनरल वाटर उद्योग पनि गुणस्तर पाउने सूचीमा अटाएका छन्।
विभागका अनुसार निर्माणमा प्रयोग गरिने पीई, पीभीसी र सीपीभीसी पाइपमा पञ्चकन्या, जगदम्बा प्लास्टिक, मंगलम, हिलटेकले पनि गुणस्तर चिह्न प्राप्त गरेका छन्। यस्तो सूचीमा नेपाल वायर, पायोनियर इलेक्ट्रो केबल्स र लिटमस इन्डस्ट्रिजका तार पनि परेका छन्।
जुत्ता उद्योगमा ’किरण सुज’ (गोल्डस्टार) र सौन्दर्य प्रसाधनका सामग्रीले पनि एनएस चिह्न प्राप्त गरेका छन्। विभिन्न उद्योगले गुणस्तर चिह्न प्राप्त गर्नु उत्पादन सुरक्षित, भरपर्दो र सरकारी मापदण्डअनुसार हुनु हो। गुणस्तर दिइएका उद्योगको नियमित अनुगमन हुने गरेको र मापदण्ड नपुगे इजाजतपत्र रद्द गरिँदै आएको विभागले बताएको छ।