काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ६०औं साधारणसभाबाट स्वतः नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले पद बहाली गरेका छन्।
वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ महासंघको विधानअनुसार स्वतः अध्यक्ष निर्वाचित भएका हुन। आज महासंघ केन्द्रीय कार्यालय टेकुमा अध्यक्ष श्रेष्ठले पद बहाली गरे।
अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा आयोजित कार्यक्रममा पद हस्तान्तरण गरेका थिए।

यसअघि महासंघमा अध्यक्ष श्रेष्ठसहित नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएक थिए। निर्वाचित अध्यक्ष श्रेष्ठ नेतृत्वको कार्यसमितिले आज पद तथा गोपनीयताको शपथ लिएको हो।
संस्थाको २१औं अध्यक्ष बनेका श्रेष्ठले नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको तीन वर्षसम्मको नेतृत्व गर्नेछन्। यसअघि उनी २०८० वैशाखमा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। श्रेष्ठले महासंघको अध्यक्ष बन्नुअघि विभिन्न महत्त्वपूर्ण जिम्मेवारी वहन गरिसकेका छन्।
निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले तीन वर्षे कार्यकाल पूरा गरेसँगै ६०औं वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमितिसहित अध्यक्षको नेतृत्व श्रेष्ठले पाएका हुन्।
महासंघमा यसअघि रहेका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान यो अन्तिम हो। अब वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बनेपछि यो प्रावधान खारेज हुनेछ। यसपछिको अर्को कार्यसमितिमा स्वतः अध्यक्ष हुने व्यवस्था गत वर्ष नै विधान संशोधनमार्फत हटाइएको थियो।
श्रेष्ठको नेतृत्वपछि महासंघमा स्वतः अध्यक्ष हुने प्रावधान हट्नेछ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटेसँगै महासंघका अध्यक्षका लागि पनि निर्वाचन हुनेछ।
महासंघको नयाँ पदाधिकारीमाःअध्यक्ष श्रेष्ठ, उपाध्यक्ष (जिल्ला नगर) कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ, उपाध्यक्ष (वस्तुगत)तर्फ नरेशलाल श्रेष्ठ तथा उपाध्यक्ष (एसोसिएट)तर्फ प्रबलजंग पाण्डे निर्वाचित भएका छन्।