काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष पदका लागि हालसम्मकै उच्च संख्या ४७ जनाको आवेदन परेको छ। आवेदन दिनेहरूमा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नरदेखि पूर्वसहसचिव, बैंक तथा बीमा क्षेत्रका कार्यकारी, सेबोनका पूर्वअधिकारी र निजी क्षेत्रका विज्ञसम्म रहेका छन्।
आवेदन सार्वजनिक भएसँगै सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। आफ्नै दाजु डा. गोपाल भट्टसहित पूर्वसहकर्मीहरू पनि प्रतिस्पर्धामा रहेकाले ‘स्वार्थको द्वन्द्व’ र नैतिक प्रश्न उठ्न सक्ने भन्दै उनले समितिबाट बाहिरिने निर्णय गरेका हुन्। सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको नेतृत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य भुवनकुमार दाहाल रहेको तीन सदस्यीय समिति गठन गरेको थियो।
अध्यक्ष पदका लागि आवेदन दिनेहरूमा राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर बमबहादुर मिश्र र चिन्तामणि शिवाकोटी रहेका छन्। त्यस्तै, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, मुकुन्दकुमार क्षेत्री, पिताम्बर भण्डारी तथा पूर्वनिर्देशक राजेन्द्र पण्डित र लिला ढकालले पनि आवेदन दिएका छन्। राष्ट्र बैंककै कामु निर्देशक प्रल्हाद गिरी र निर्देशक सुवासचन्द्र घिमिरे पनि प्रतिस्पर्धामा छन्।
सेबोनका पूर्वकार्यकारी निर्देशक डा. नवराज अधिकारी, पूर्वकार्यकारी निर्देशक नीरज गिरी, वर्तमान निर्देशक विनयदेव आचार्य तथा पूर्वसञ्चालक पिताम्बर भण्डारी पनि अध्यक्ष दौडमा छन्। नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र सीताराम थपलियाले समेत आवेदन दिएका छन्।
पूर्वसहसचिव दीर्घ मैनाली, सिन्धु विकास बैंकका पूर्वसीईओ सुरेश देवकोटा, रिलायन्स लाइफका डिसीईओ डा. राकेश पोखरेल, ज्योति विकास बैंकका सीईओ पूर्णप्रसाद आचार्य र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं पनि प्रतिस्पर्धी सूचीमा छन्।
अन्य आवेदकहरूमा पुरुषोत्तम चिमोरिया, विपिन कडेल, बद्री गुरागाईं, विनोद आचार्य, झवेन्द्र कार्की, प्रकाश अधिकारी, डा. केशव श्रेष्ठ, मुक्ति अर्याल, कृष्ण आचार्य, दीपक थापा, डिमप्रसाद पौडेल, सन्तोषनारायण श्रेष्ठ, प्रविण पाण्डे, नीरजन घिमिरे, बुद्धिसागर अमगाईं, तेजप्रसाद देवकोटा, खगेन्द्र सापकोटा, डा. मनोजकुमार शाही, कृष्णराज पोखरेल, हेमन्त बस्याल, डा. शंकरप्रसाद पाठक, डा. हरिकुमार सिलवाल, विकासराज पोखरेल, नारायण सापकोटा, देवप्रसाद दाहाल, रामदेव यादव, शिवराज अधिकारी र सूर्यप्रसाद अधिकारी रहेका छन्।
अब सरकारले नयाँ संयोजक नियुक्त गरेपछि मात्रै सिफारिस समितिको काम अघि बढ्नेछ। समितिले ४७ आवेदकमध्येबाट पाँच जनाको सर्टलिस्ट तयार गरी कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। मन्त्रिपरिषद्ले तीमध्येबाट एक जनालाई आगामी चार वर्षका लागि सेबोन अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ।
यद्यपि नियामक निकायमै कार्यरत रहेका वा जागिर छोडेको एक वर्ष नपुगेका केही उम्मेदवारहरूको योग्यतामाथि समेत प्रश्न उठेकाले प्रक्रिया थप जटिल बन्न सक्ने देखिएको छ।