काठमाडौं। निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक प्रभु हेलिकप्टरले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजनाका साथ संस्थागत साख मूल्याङ्कन गराएको हो।
रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको पछिल्लो वित्तीय अवस्था र भावी योजनाको विश्लेषण तथा मूल्याङ्कन गर्दै ‘बीबी माइनस’ इस्युअर रेटिङ प्रदान गरेको छ।
यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्न सक्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको र लगानीको सुरक्षा अवस्था सामान्य रहेको संकेत गर्दछ। आइपिओ निष्कासनअघि लगानीकर्ताहरूलाई कम्पनीको वित्तीय स्वास्थ्यबारे जानकारी दिन यो रेटिङ अनिवार्य मानिन्छ।
व्यापारमा सुधार र १० करोड नाफा
प्रभु हेलिकप्टरको वित्तीय अवस्था पछिल्लो समय निकै उत्साहजनक देखिएको छ। सन् २०२१ मा २१ करोड ७० लाख रुपैयाँ नोक्सानीमा रहेको यो कम्पनीले आर्थिक वर्ष २०८१/८२ (२०२५) मा १० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। सो अवधिमा कम्पनीले २८ करोड ५० लाख रुपैयाँको कुल कारोबार गरेको थियो। हेलिकप्टर चार्टर, पर्यटकीय उडान र उद्धार कार्यमा आएको बढोत्तरीका कारण कम्पनीले घाटालाई नाफामा बदल्न सफल भएको हो।
कम्पनीले आफ्नो व्यवसाय विस्तार र हेलिकप्टर खरिदका लागि बैंकहरूबाट ठुलो परिमाणमा ऋण परिचालन गरेको छ। रेटिङ रिपोर्टअनुसार कम्पनीले २३ लाख २० हजार अमेरिकी डलर (करिब ३१ करोड नेपाली रुपैयाँ) र ३६ करोड ९८ लाख नेपाली रुपैयाँ गरी कुल ६८ करोड रुपैयाँ बराबरको बैंक कर्जा उपयोग गरिरहेको छ। सेयर निष्कासनपछि प्राप्त हुने पुँजीले कम्पनीको ऋण भार कम गर्न र थप हेलिकप्टर खरिद गर्न मद्दत पुग्ने देखिएको छ।
यस्तै, कम्पनीका वित्तीय सूचकहरू बलिया छन्। सञ्चालन मुनाफा ४६ प्रतिशतको उच्च विन्दुमा छ भने ब्याज तिर्ने क्षमता ३।०१ गुणा रहेको छ। पुँजी र ऋणको अनुपात १.२४ गुणामा झर्नुले कम्पनीको पुँजीगत संरचना सुदृढ हुँदै गएको पुष्टि गर्छ।
अनुभवी प्रबद्र्धक र प्रभु ग्रुपको साथ
प्रभु हेलिकप्टरको नेतृत्व अध्यक्ष सुभाष अमात्यले गरिरहेका छन्। उनीसँग जलविद्युत् र पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ। कम्पनीमा सनराइज होल्डिङ र सुभाष अमात्यको मुख्य ३५.९३ प्रतिशत सेयर स्वामित्व छ। प्रभु ग्रुपसँगको आबद्धता र अनुभवी व्यवस्थापन टोलीका कारण कम्पनीले छोटो समयमै हवाई सेवा बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
कम्पनीसँग हाल दुईवटा अत्याधुनिक एयरबस हेलिकप्टरहरू रहेका छन्। नेपालको भौगोलिक बनावट र हिमाली पर्यटनका कारण हेलिकप्टर सेवाको माग सधैं उच्च रहने यसको मुख्य अवसर हो। यद्यपि, कम्पनीको कुल आम्दानीको ५८ प्रतिशत हिस्सा खुम्बु क्षेत्रमा मात्र केन्द्रित हुनु यसको मुख्य जोखिम हो।
त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्यमा हुने उतारचढाव र डलरको विनिमय दरमा हुने वृद्धिले कम्पनीको नाफामा असर पार्न सक्ने चुनौती रेटिङ रिपोर्टले औँल्याएको छ। यी चुनौतीका बाबजुद, १० करोडको आकर्षक नाफा र आईपीओको तयारीले गर्दा प्रभु हेलिकप्टरको आगामी यात्रा लगानीकर्ताका लागि आशालाग्दो देखिएको छ। सेयर बजारमा सूचीकृत भएपछि यो कम्पनी नेपालको हवाई सेवा क्षेत्रको दोस्रो हेलिकप्टर कम्पनी बन्नेछ।