काठमाडौं। संघीय संसद्का दुवै अधिवेशन आजबाट सुरु हुँदै छ। बैठक दिउँसो ४ बजे बस्नेछ।
बजेट अधिवेशनसमेत भनिने यसपटक दुई तिहाइ बहुमत नजिकको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम दुवै सदनमा पेस गर्नेछ। आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वैशाख २२ गते आजका लागि संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका थिए।
यसअघि राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा वैशाख १० मा वैशाख १७ गते बस्ने गरी संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए। तर, त्यसको भोलिप्ट भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए।
सरकारले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो। स्थगित संसद् अधिवेशन आजदेखि सुरु हुन लागेको हो।
आजै दिउँसो २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठक बस्नेछन्। आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्।
त्यसपछि सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन्। आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्नेछन् भने प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ पेस गर्नेछन्।
साथै आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ९पहिलो संशोधन) अध्यादेश, २०८३ पेस गर्नेछन्।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)० निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ पेस गर्नेछन् भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्नेछन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ पेस गर्ने कार्यसूची छ।
साथै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्नेछन् नेछ भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्नेकार्यसूची रहेको जनाइएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेश पेस हुनेछन्।
बजेट प्रस्तुत गर्नुअघि ल्याइने महत्वपूर्ण दस्तावेजका लागि सरकारले अन्तिम समयमा आएर सुझाव संकलन थालेको छ। नीति तथा कार्यक्रम सार्वजनिक हुनुभन्दा मात्र तीन दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छुट्टै डिजिटल पोर्टल सञ्चालनमा ल्याउँदै सुझाव संकलनको प्रक्रिया सुरु गरेको हो।
विगतका वर्षमा बजेट तथा नीति तथा कार्यक्रम निर्माणमा अर्थ मन्त्रालयको प्रमुख भूमिका रहने गरे पनि यसपटक प्रधानमन्त्री कार्यालयले विशेष चासो देखाएको छ।
प्रधानमन्त्रीले यसअघि विभिन्न प्रदेशका सांसदहरूसँगको भेटघाटका क्रममा आगामी बजेटका लागि आवश्यक सुझाव लिखित रूपमा आफ्नो सचिवालयमा बुझाउन निर्देशन दिएका थिए। सोही सक्रियतालाई निरन्तरता दिँदै आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न डिजिटल पोर्टल सञ्चालनमा ल्याइएको सरकारको दाबी छ।
सरकारका अनुसार नीति तथा कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन प्रणालीलाई थप जनमुखी र पारदर्शी बनाउने उद्देश्य राखिएको छ।
विगतमा पहिले प्रि–बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याइन्थ्यो । अघिल्लो वर्ष नीति तथा कार्यक्रम ल्याएपछि मात्रै प्रि–बजेट छलफल भएको थियो। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि नीति तथा कार्यक्रम र प्रि–बजेट छलफल हुनेछ।