काठमाडौं। ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ।
नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्।
नागरिक एप प्रयोगकर्ताले ग्लोबल आइएमई बैंकमा खाता खोल्न आवश्यक पर्ने क्यूआर कोड उल्लिखित लिंकमा क्लिक गरी पाउनेछन्।नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाउनेछ।
यसअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नागरिकले अनलाइनबाटै बैंकमा खाता खोल्न सक्नेछन। यसका लागि बैंकले नागरिक एपमा आबद्ध व्यक्तिको पूर्व सहमति लिई खाताको लागि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रुपमा प्राप्त गर्नेछ।
यसबाट व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनियता तथा सूचनाको सुरक्षासमेत सुनिश्चित हुनेछ। नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि ग्राहकले आफ्नो नजिक रहेको शाखा कार्यालयमा गई वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्ने बैंकले बताएको छ।
सेवा सुरुसँगै बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल तथा भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तार गरेको छ।
नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ।
हाल बैंकले ३४२ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाटद बैंकिङ सेवा दिँदै आएको छ।