काठमाडौं। नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोडेर ग्रामीण अर्थतन्त्र रुपान्तरण गर्ने उद्देश्यले ललितपुरको खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने भएको छ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेल, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि यु पेङचेङ र चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी निर्देशक सु झियाङले उक्त केन्द्रको शिलान्यास गरे। कुल ३२ लाख रुपैयाँमा निर्माण हुने सो तालिम केन्द्रमा स्थानीय, प्रदेश सरकार र चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको सहकार्य हुने जनाइएको छ।
सोही अवसरमा स्थानीय कृषक समूहलाई प्रविधि र अन्य प्राविधिक विषय ज्ञान प्रदान गर्न उच्चस्तरको तालिम सुरुआत गरिएको छ। चीन सरकारको ‘चीन–दक्षिण एसियाली मुलुक गरिबी निवारण तथा सहकारी विकास केन्द्र–नेपाल भाइब्रेन्ट भिलेज’ पहलअन्तर्गत सञ्चालित यो परियोजनाले ललितपुर महानगरको खोकना र दक्षिणकाली नगरपालिकामा कृषि आधुनिकीकरणमा नमूना क्षेत्रका रूपमा सहकार्य गर्ने लक्ष्य राखेको छ।
मन्त्री पौडेलले सो तालिम केन्द्र सञ्चालनमा आएपछि किसानलाई प्राविधिक ज्ञान दिलाउन र रोजगारी सृजनामा महत्त्वपूर्ण भूमिका गर्ने विश्वास व्यक्त गरे। चीनले कृषि प्रविधिमा मारेको फड्कोबाट नेपालले पनि लाभ लिन चाहेको उनले बताए।
त्यसैगरी चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी निर्देशक सु झियाङले यसप्रकारको सहकार्यले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने र दिगो कृषि प्रणालीको जग बसाल्ने जनाइन्। निर्देशक झियाङले समग्र परियोजना आधुनिक कृषि प्रणालीको विकास गर्न लक्षित भएको बताइन्।
चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले चितवनमा हाइब्रिड धान, झापामा मत्स्यपालन र पशुपालनजस्ता परियोजना सञ्चालन गरिसकेको छ । चिनियाँ सहकार्यमा भएको यस कार्यक्रमअन्तर्गत खोकना र दक्षिणकालीमा रैथाने बालीको प्रवर्द्धन, बेमौसमी तरकारी उत्पादन र जीवन्त गाउँको निर्माणमा योगदान पुगेको ललितपुर महानगरपालिका–२१ का अध्यक्ष रवीन्द्र महर्जनको भनाइ छ।
कार्यक्रममा चिनियाँ पक्षबाट अत्याधुनिक खेतबारी जोत्ने मेसिन ललितपुर महानगरपालिका–२१ को कृषक समूहलाई हस्तान्तरण गरियो। रिमोट कन्ट्रोलबाट चल्ने सो मेसिनले एक घन्टामा एक हजार वर्गमिटर जोत्न सक्ने र इन्धनको पनि कम खपत हुने चिनियाँ प्राविधिकले जानकारी दिएका छन्।
यसप्रकारका तालिम र प्राविधिक सहकार्यमा चिनियाँ विशेषज्ञ र अनुसन्धानकर्ताको प्रत्यक्ष रेखदेख र संलग्नता रहने आयोजकले जनाएको छ। यस आयोजनाले ६० भन्दा बढी किसान परिवारलाई प्रत्यक्ष लाभान्वित तुल्याएको छ। सो अवसरमा स्थानीय महिला समूहले हातले बुनेका जुत्ता, स्थानीय मिठाई र परियोजनाअन्तर्गत उत्पादन गरिएका ताजा तरकारी प्रदर्शन गरेका थिए।-रासस