काठमाडाैं। पशु सेवा विभागले पछिल्लो साता नेपालमा बर्डफ्लु संक्रमण नदेखिएको जनाएको छ। केही महिनाअघि पूर्वी जिल्लाहरूबाट सुरु भई काठमाडौं उपत्यका तथा नजिकैका जिल्लाहरूमा फैलिएको बर्डफ्लु अर्थात् एभियन इन्फ्लुएन्जा संक्रमण नियन्त्रणतर्फ उन्मुख भइसकेको छ। पछिल्लो एक हप्तामा कुनै पनि नयाँ स्थानमा संक्रमण देखिएको छैन।
विभागका अनुसार विगतमा संक्रमण देखिएका क्षेत्रहरूमा द्रुत प्रतिक्रिया टोली खटाई संक्रमित पन्छी, अण्डा र दाना नष्ट गर्ने कार्यमा तीव्रता दिइएकाले रोग थप फैलिन नपाएको हो। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार साउन १ गतेपछि बर्डफ्लु देखिएको छैन। आज ६ गतेसम्म कतै पनि संक्रमण भेटिएको छैन। त्यसैले अहिलेको अवस्थालाई नियन्त्रणमा भनी बुझ्न सकिन्छ। बाहिरी जिल्लाहरूमा पहिले नै नियन्त्रण भइसकेको र उपत्यका तथा काभ्रेमा साउन १ गतेपछि कुनै पनि व्यावसायिक फर्ममा संक्रमण नदेखिएको उनले बताए।
विभागका अनुसार गत वर्षको चैत ६ गतेदेखि यस वर्ष साउन ३२ गतेसम्म संक्रमणबाट प्रभावित जिल्लाहरूमा सुनसरी, मोरङ, झापा, काठमाडौँ, चितवन, नवलपरासी, बारा, महोत्तरी, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक पर्छन्। यीमध्ये काठमाडौँ उपत्यकाका ९२ स्थानमा- काठमाडौँमा ३२, ललितपुर (केन्द्रीय चिडियाखानासमेत) मा १५, भक्तपुरमा ४५ र काभ्रेपलाञ्चोकमा २७ स्थानमा- रोग पुष्टि भएको थियो।
यस अवधिमा विभागले जम्मा ८ लाख ३५ हजार ५ सय ६३ वटा पन्छी नष्ट गरेको छ, जसमध्ये उपत्यका र काभ्रेपलाञ्चोकमा मात्रै ३ लाख ६७ हजार ८ सय ३५ वटा पन्छी थिए। यसका अतिरिक्त ११ लाख ६५ हजार ६ सय ६३ वटा अण्डा र २ लाख ४५ हजार ३५ किलोग्राम दाना पनि नष्ट गरिएको सरकारी तथ्याङ्कमा उल्लेख छ।
बर्डफ्लुका कारण किसानहरूलाई ठूलो क्षति पुगेको छ। यसपटक काठमाडौँ उपत्यकासहित केही जिल्लाहरूमा संक्रमण उत्कर्षमा पुगेको सरकारी तथ्याङ्कले नै देखाउँछ।
विभागले जारी गरेको सूचनाअनुसार गत वर्षको चैत ६ गतेदेखि यस वर्ष साउन ३२ गतेसम्म बर्डफ्लुबाट बढी प्रभावित पन्छीहरूमा प्यारेन्ट ब्रोइलर, स्थानीय कुखुरा, स्थानीय हाँस, टर्की र कालिज पर्छन्।
बर्डफ्लुका कारण किसानहरूलाई ठूलो क्षति पुगेको छ। यसपटक काठमाडौँ उपत्यकासहित केही जिल्लाहरूमा संक्रमण उत्कर्षमा पुगेको सरकारी तथ्याङ्कले नै देखाउँछ। तर संक्रमण देखिनेबित्तिकै पशु सेवा विभागले देखाएको तत्परता र सक्रियता प्रशंसनीय रहेको पशु चिकित्सक डा. दिनेश गौतमले बताए। व्यावसायिक फर्म वा अन्यत्र जहाँसुकै होस्, बर्डफ्लु नियन्त्रणको एकमात्र प्रभावकारी उपाय भनेकै संक्रमित कुखुरा नष्ट गर्नु हो। विभागले यो प्रक्रिया छिटो अघि बढाएकाले रोग नियन्त्रणमा चाँडै सफलता मिलेको उनले बताए।
पछिल्लो १०/१२ दिनदेखि कुनै नयाँ केस नथपिनुले नै स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको पुष्टि गर्छ। जावलाखेलस्थित केन्द्रीय चिडियाखाना पनि साउन १ गतेदेखि बर्डफ्लुमुक्त घोषित भई पुनः सञ्चालनमा आइसकेको छ। यसले बर्डफ्लु उपत्यकाबाट मात्र नभई समग्र देशबाटै विस्तारै हट्दै गएको पुष्टि हुने गौतमले क्यापिटल नेपालसँग बताए।
बर्डफ्लु जस्ता महामारीले समग्र पोल्ट्री उद्योगमा गम्भीर असर पार्ने गरे पनि यसपटक वास्तविक समस्या रोग आफैँभन्दा बढी यसको वरिपरि फैलिएका भ्रम र हल्लाहरू थिए। वास्तवमा यो रोगप्रति पोल्ट्री व्यवसायी र किसानहरू भन्दा बढी उपभोक्ताहरूमै त्रास फैलियो, जबकि सजग हुनुपर्ने वास्तविक पक्ष व्यवसायी र किसानहरू नै थिए।
चिकित्सा विशेषज्ञहरूले मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै जोखिम नहुने प्रस्ट पारिसकेका थिए, तर कतिपय सञ्चारमाध्यमहरूले महामारीलाई अलि बढी अतिरञ्जित तवरले प्रस्तुत गर्दा बजारमा प्रत्यक्ष नकारात्मक असर पर्न गएको गौतमको बुझाइ छ। अहिले स्थिति सामान्य हुँदै गएसँगै मानिसहरूमा त्रास दिनानुदिन घट्दै गएको छ र उपभोक्ताको विश्वास फर्किंदै गएको छ। स्कुल-कलेजका क्यान्टिनहरूसहित समग्र बजार पुनः पुरानै लयमा फर्कन थालेको उनले बताए।
यता नेपाल सरकारले संक्रमण नियन्त्रणका लागि कुखुरा नष्ट गर्ने र किसानलाई लागतको करिब ७५ प्रतिशतसम्म क्षतिपूर्ति वा राहत उपलब्ध गराउने व्यवस्था गरेको छ।
बर्डफ्लु संक्रमणबाट नोक्सानी बेहोर्नुपरेका कुखुरा व्यवसायी तथा व्यावसायिक फर्महरू अर्थात् प्रभावित कृषकहरूलाई राहतस्वरूप विभागले ५० करोड रुपैयाँ रकमान्तर गरी ५२ करोड रुपैयाँ व्यवस्था गरेको थियो। हालसम्म १०४ जना कृषक/फर्मको खातामा ५० करोड ७१ लाख १५ हजार ७ सय ४ रुपैयाँ २५ पैसा राहत उपलब्ध गराइसकिएको पशु सेवा विभागका चिकित्सक उपाध्यायले जनाए।
कसरी फैलियो बर्डफ्लु
नेपालमा यस्तो समस्या पहिलोपटक हैन; विगतमा पनि यो दोहोरिइसकेको छ। बर्डफ्लुको नयाँ भेरियन्टबारे सरकारी स्तरमा अध्ययन भइरहेको भए पनि रोगको प्रकृति र लक्षण अघिल्ला वर्षहरूजस्तै रहेकाले यसपटकको संक्रमण नयाँ भेरियन्ट हो भन्नेमा आफू विश्वस्त नरहेको गौतमले बताए। यो पुरानै बर्डफ्लु भाइरसबाट आएको हुनसक्ने अनुमान छ। यसको पहिलो आउटब्रेक मोरङलगायतका सीमावर्ती जिल्लाहरूमा देखिएको थियो, जहाँ भारतबाट अवैध रूपमा ल्याइएका कुखुराहरू बिक्री गरिन्थ्यो।
पशु चिकित्सक दिनेश गौतमका अनुसार अहिले बर्डफ्लु संक्रमणको मुख्य स्रोत खुला सीमा हुँदै हुने अवैध ओसारपसार नै हो, जसअन्तर्गत चल्लाकुखुरा लगायतका सामग्री भित्रिँदा संक्रमण यहाँसम्म पुगेको हो। पहिलो आउटब्रेक झापा र मोरङजस्ता सीमावर्ती जिल्लाहरूमा देखिएको थियो, जहाँ भारतबाट अवैध रूपमा ल्याइएका कुखुराहरूको प्रत्यक्ष भूमिका थियो। भारतमा बर्डफ्लुको ठूलो समस्या रहे तापनि त्यहाँको सरकारले औपचारिक रूपमा आउटब्रेक घोषणा गर्दैन र कुखुरा नष्ट गर्ने नीति पनि अपनाउँदैन, जसका कारण भारतमा हाल पनि यो संक्रमण महामारीकै रूपमा रहेको गौतमले क्यापिटल नेपाललाई बताए।
यता नेपाल सरकारले संक्रमण नियन्त्रणका लागि कुखुरा नष्ट गर्ने र किसानलाई लागतको करिब ७५ प्रतिशतसम्म क्षतिपूर्ति वा राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। यसका कारण नेपाली किसानहरू रोग देखिनेबित्तिकै ढुक्क भएर सरकारलाई जानकारी गराउने गर्छन्।
कुखुराको यो अवैध कारोबारले अर्थतन्त्रलाई बिगारेको कुरा सर्वविदितै छ- अवैध व्यापारका कारण रोग भित्रिँदा मार स्वदेशी उद्योग तथा फर्महरूले नै खेप्नुपर्छ। यो रोग नेपाल भित्र प्रवेश गर्न नदिन कुखुराजन्य वस्तुको अवैध कारोबार वा सीमापारि व्यापारलाई सरकारले सूक्ष्म ढङ्गबाट नियमन गर्नुपर्ने भन्दै विज्ञहरूले सरकारलाई सचेत गराएका छन्।