काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको स्वकीय सचिवालयमा हलुका सवारी चालकको पदमा कार्यरत एक युवक गम्भीर फौजदारी अभियोगमा प्रहरीको फन्दामा परेका छन् । सप्तरीको महादेवा गाउँपालिका–१, बल्थी मूलघर भई हाल राजविराज नगरपालिका–३, पाख्रेल टोल बस्दै आएका २७ वर्षीय मुस्तकिम मियाँलाई सोमबार राजविराजबाट पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी गौतम केसीले जानकारी दिए ।
प्रहरीका अनुसार, २०८२ फागुन १४ गते बिहान करिब ८ बजे मुस्तकिम मियाँ बा.९९प ५७७५ नम्बरको मोटरसाइकलमा थप तीन जना साथी लिई राजविराज नगरपालिका–३ स्थित हनुमान चोकमा पुगेका थिए । त्यहाँ दुईवटा मोटरसाइकलमा आएको उक्त समूहले स्थानीय राजु कुमार चौधरीलाई बन्दुक देखाउँदै बलपूर्वक कब्जामा लियो र राजविराज नगरपालिका–८ स्थित हिमालय राईस मिलको पछाडि पर्वत भनिने सुनसान खाली चौरमा लगेर बन्धक बनायो ।
बन्धक बनाएपछि समूहले पीडितलाई निर्घात कुटपिट गर्नुका साथै धम्की दिँदै भुईँमा थुकेर चाट्न समेत बाध्य बनाएको पीडितको बयानमा उल्लेख छ । ज्यादतीको अन्तमा मोबाइल फोन, दुई तोला सुनको सिक्री र नगद एक लाख ३० हजार रुपैयाँ लुटेर उनलाई नाङ्गै छाडी समूह फरार भएको थियो । अपहरणमा संलग्न अन्य तीन जना हालसम्म पनि फरार रहेका छन् ।
मियाँविरुद्ध जिल्ला अदालत सप्तरीले वैशाख २४ गते नै पक्राउ अनुमति जारी गरिसकेको थियो । एसपी केसीका अनुसार मियाँ र अन्य आरोपीहरूविरुद्ध अपहरण तथा शरीर बन्धक र अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता भई अनुसन्धान जारी छ । थप चिन्ताको विषय के छ भने, मुस्तकिम मियाँ यसअघि नै विद्युतीय अपराध सम्बन्धी कसुर र अर्को एक युवकलाई नाङ्गेझार पारेर कुटपिट गरेको गरी थप दुई वटा मुद्दामा समेत फरार रहेका थिए ।
यति हुँदाहुँदै पनि मुस्तकिम मियाँ २०८२ चैत २७ मा मन्त्री रामजी यादवको स्वकीय सचिवालयमा हलुका सवारी चालक पदमा नियुक्त भएको तथ्य सार्वजनिक हुँदा प्रशासनिक वृत्तमा गम्भीर प्रश्न उठेको छ। फरारीमा रहेकै व्यक्ति कसरी सरकारी नियुक्तिमा पुग्न सफल भए भन्ने विषयमा सम्बन्धित निकायले स्पष्टीकरण दिनुपर्ने माग बढ्दो छ ।