काठमाडौं। वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकहरू थप आर्थिक भारको चेपुवामा परेका छन्। साउदी सरकारले रोजगारीका लागि जाने श्रमिकहरूका लागि सीप परीक्षण अनिवार्य गरेपछि नेपाली श्रमिकहरूले प्रतिपरीक्षा ५० अमेरिकी डलर (नेपाली रुपैयाँमा ७ हजार ६ सय ८८ रुपैयाँ) अतिरिक्त शुल्क तिर्नुपर्ने भएको हो। नेपाल राष्ट्र बैंकले तोकेको हालको विदेशी विनिमय दरअनुसार सो रकम एउटा गरिब श्रमिकका लागि ठूलो आर्थिक बोझ हो। साथै, कुनै श्रमिक पहिलो पटकको परीक्षामा अनुत्तीर्ण भएमा पुनः परीक्षा दिनका लागि फेरि थप ५० डलर नै तिर्नुपर्ने बाध्यता खडा भएको छ।
ठूलो रकम खर्चेर, ऋण काढेर गन्तव्य मुलुकमा पसिना बगाउन जाने तयारीमा रहेका सिधासाधा नेपाली श्रमिकहरूमाथि थपिएको यो आर्थिक दायित्वले उनीहरू अन्ततः साहूको ऋण वा मिटरब्याजको दलदलमा फस्ने निश्चितप्रायः छ। गन्तव्य मुलुकको यो नयाँ नियमले सुरक्षित र सीपयुक्त रोजगारीको नारा दिए पनि व्यावहारिक रूपमा भने यसको प्रत्यक्ष आर्थिक बोझ विपन्न तथा मध्यमवर्गीय नेपाली श्रमिककै थाप्लोमा पर्ने भएको छ।
साउदी सरकारले लागू गरेको सीप परीक्षण प्रणालीको अन्तर्य बुझ्नका लागि वैदेशिक रोजगार व्यवसायीहरूले भारत र बंगलादेशका समकक्षीसँग यसको सञ्चालन प्रक्रियाबारे बुझेका थिए र त्यहाँ भएको त्रुटिपूर्ण अभ्यास देखेपछि नेपालमा यो व्यवस्था लागू हुन नदिन कूटनीतिक पहल गर्न मन्त्रालयलाई सचेत गराउँदै अनुरोध गरेका थिए। तर साउदी दूतावासले सीप परीक्षण नगरी भिसा नलगाइदिने अडान लिएपछि र श्रमिकहरूको मेडिकल जाँचको म्याद गुज्रन लागेको कारण व्यवसायीहरू बाध्य भएर आफ्ना श्रमिकलाई परीक्षामा पठाउन विवश भएको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन्। "हामीले नपठाउनू भन्दाभन्दै पनि बाध्यताले उहाँहरूले पठाउनुभयो," व्यवसायीहरूले भने।
गन्तव्य मुलुक साउदी अरबले हालसालै लागू गरेको यो प्रणालीको सबैभन्दा पेचिलो पक्ष भनेकै यसको चर्को र दोहोरो शुल्क रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष दिकबहादुर खत्रीले बताए। सीप परीक्षणका लागि प्रतिव्यक्ति ५० अमेरिकी डलर तोकिएको छ, जुन रकम पहिलो पटक असफल भएमा दोस्रो पटक परीक्षा दिन फेरि उत्तिकै तिर्नुपर्छ। विदेशी भूमिमा आफ्नो ज्यानको बाजी राखेर पसिना बगाउने ती सोझासाझा श्रमिकलाई यसले झन् चेपुवामा पार्ने काम गरेको उनको भनाइ छ।
अध्यक्ष खत्रीका अनुसार सीप परीक्षणको विषयलाई लिएर काठमाडौंस्थित साउदी अरबका राजदूतले वैदेशिक रोजगार व्यवसायी संघ र श्रममन्त्रीलाई भेट्दा यो शुल्क रोजगारदाताले नै बेहोर्ने भन्दै श्रमिकले चिन्ता लिनु नपर्ने आश्वासन दिएका थिए। तर वास्तविकता भने ठीक उल्टो देखिएको छ। हाल व्यवसायीहरूकहाँ एउटा संस्थाबाट यस्तो इमेल आइरहेको छ, जसमा ती ५० डलर तिर्न आफूहरूले सहजीकरण गरिदिने प्रस्ताव राखिएको छ।
खत्रीका अनुसार, रोजगारदाताले नै यो रकम तिर्ने भए साउदी सरकारले 'ओकाला' (कामदार माग)पत्रको कोटा दिने बेलामै त्यहाँका सम्बन्धित कम्पनीहरूबाट सो रकम असुल गर्नुपर्ने थियो। तर हालै एउटा बिचौलिया संस्थाले नेपाली व्यवसायीहरूलाई ५० डलर तिर्न सहजीकरण गरिदिने भन्दै इमेल पठाएकोबाट यो भार घुमाउरो तरिकाले श्रमिककै थाप्लोमा राख्न लागिएको स्पष्ट देखिने अध्यक्ष खत्रीले बताए। "सरकार र जनमानसलाई विश्वस्त पार्न रोजगारदाताले तिर्ने भनिए पनि अन्ततः यो पैसा सोझा नेपाली श्रमिककै खल्तीबाट असुल्ने प्रपञ्च रचिएको छ," खत्रीले दाबी गरे।
युवा तथा श्रम मन्त्रालयले भने सीप परीक्षालाई स्थगन गर्न साउदी पक्षलाई निरन्तर आग्रह गर्दै आएको दाबी गरेको छ। साउदी अरब जाने श्रमिकको सीप परीक्षण लागू गर्न व्यावहारिक कठिनाइ भएकाले यसलाई रोक्न आग्रह गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता पीताम्बर घिमिरेले बताए।
"परराष्ट्र मन्त्रालयमार्फत हामीले यो कार्यक्रम अगाडि नबढाउन भरपुर प्रयास गरेका छौं। माननीय मन्त्रीज्यूले राजदूतसँग पनि यो विषयमा छलफल गर्नुभएको छ। मन्त्रालयबाट लिखित रूपमा पनि पत्र पठाइएको छ। यो कार्यक्रम अगाडि नबढाउन मन्त्रीज्यूले अनुरोध गर्नुभएको छ," घिमिरेले भने। उनका अनुसार काठमाडौंस्थित साउदी दूतावासका राजदूतले नेपाल सरकारले उठाएका विषयहरू सुनेका छन् र यसमा सकारात्मक रहेको जानकारी पनि प्राप्त भएको छ। "व्यावहारिक नहुने र कार्यान्वयन गर्न कठिन हुने भएकाले यसलाई अगाडि नबढाउन पत्र लेखेर पठाएका छौं। पछि यसबारे थप छलफल गरी फोकल पोइन्ट तोकेर अगाडि बढ्ने कुरा भएको छ," प्रवक्ता घिमिरेले थपे।
साउदी जान कति खर्च लाग्छ?
रोजगारीका लागि साउदी अरब जानका लागि श्रमिकहरूले हाल विभिन्न शीर्षकमा निम्नानुसार शुल्क तिर्नुपर्ने हुन्छ:
- गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) आवेदन शुल्क: १०.५० अमेरिकी डलर
- मेडिकल परीक्षण शुल्क: ६ हजार ५ सय रुपैयाँ
- भ्याक्सिन शुल्क: ३ हजार ५ सय रुपैयाँ
- इन्जाज दर्ता शुल्क: १०.५० अमेरिकी डलर
- मेडिकल सर्टिफिकेट शुल्क: १०.५० अमेरिकी डलर
- बायोमेट्रिक परीक्षण शुल्क: ७ सय ८० रुपैयाँ भए पनि व्यवहारमा ३ हजार रुपैयाँसम्म असुल गरिने गरेको पाइन्छ