काठमाडौं। थाइल्यान्ड सम्झिँदा पुकेट र कोह समुद्र झल्किन्छ। इन्डोनेसिया सम्झिँदा बाली मनमा आउँछ। माल्दिभ्स सम्झिँदा फिरोजी समुद्रको छेउमा ठड्याइएका विश्वस्तरीय रिसोर्ट आँखाअगाडि तैरिन्छन्।
यी गन्तव्यहरू विश्व पर्यटन नक्सामा यसरी अमिट भए, किनभने त्यहाँ एकपछि अर्को अन्तर्राष्ट्रिय लक्जरी ब्राण्डले आफ्नो झण्डा गाड्यो। उनीहरूले होटल मात्र बनाएनन्, एउटा सम्पूर्ण गन्तव्यको छवि विश्वभर पुर्याए। अब त्यही भूमिका खेल्न इन्टरकन्टिनेन्टल पोखरा रिसोर्ट बेगनासको शान्त किनारमा तयार भएको छ।
कास्कीको बेगनास तालको काखमा सांग्रिला हस्पिटालिटी ग्रुपको बहुप्रतीक्षित रिसोर्ट अन्ततः उद्घाटनको दैलोमा आइपुगेको छ। आगामी अक्टोबर १५ मा सफ्ट ओपनिङको मिति तय भएको यो रिसोर्टको प्रत्येक भिल्लामा एक रात बिताउन न्यूनतम ५०० अमेरिकी डलर, अर्थात् नेपाली हिसाबले करिब ७० हजार रुपैयाँ तिर्नुपर्छ। नेपालको होटल उद्योगको इतिहासमा यो मूल्य निर्विवाद रूपमा सबैभन्दा महँगाहरूमध्ये एक हो।
आईएचजी- हवाई मार्गको सपनाबाट उभिएको साम्राज्य
इन्टरकन्टिनेन्टल पोखरा रिसोर्टको व्यवस्थापन गर्ने इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) कुनै साधारण कम्पनी होइन। सन् १९४६ मा पान अमेरिकन एयरवेजका संस्थापक जुआन ट्रिप्पेले प्रत्येक उडानको अन्तिम गन्तव्यमा लक्जरी आवास उपलब्ध गराउने सपना बोकेर इन्टरकन्टिनेन्टल ब्राण्डको जन्म दिए। त्यो सपनाबाट उभिएको ब्राण्ड अहिले विश्वको सबैभन्दा ठूलो लक्जरी होटल नेटवर्कमध्ये एक बनेको छ।
लण्डन स्टक एक्सचेन्ज र न्युयोर्क स्टक एक्सचेन्ज दुवैमा सूचीकृत यो ब्रिटिश बहुराष्ट्रिय आतिथ्य कम्पनीले सेप्टेम्बर २०२५ सम्म विश्वका ३ लाख ७५ हजार कर्मचारीसहित ६ हजार ८०० भन्दा बढी होटल सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत १९ वटा फरक होटल ब्राण्ड रहेका छन् र सन् २०२४ मा समूहको कुल राजस्व ३३.४ अर्ब अमेरिकी डलर पुगेको थियो।
इन्टरकन्टिनेन्टल होटेल्स एन्ड रिसोर्ट्स ब्राण्ड आफैं ६८ देशका २१२ भन्दा बढी सम्पत्तिमा उपस्थित छ र यसलाई विश्वकै सबैभन्दा ठूलो लक्जरी होटल ब्राण्डको रूपमा मान्यता दिइन्छ। मेरियट, हायत र हिल्टनसँग प्रतिस्पर्धा गर्ने यो समूहले जहाँ पाइला राख्छ, त्यो ठाउँ विश्व पर्यटन नक्सामा नयाँ रूपमा चिनिन थाल्छ।
होटल चलाउन नभई, पोखरालाई चिनाउन
सांग्रिला हस्पिटालिटी ग्रुपका कार्यकारी निर्देशक प्रणयबहादुर पाण्डे भन्छन् 'आईएचजी भित्र्याउनुको उद्देश्य एउटा होटल राम्रोसँग चलाउनु होइन। पोखरालाई एउटा विश्वस्तरीय गन्तव्यको रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो।'
"नेपाल सम्झिँदा पोखरा आउने गरी हामीले काम गर्नुपर्छ," पाण्डेले भने, "आईएचजीको विश्वव्यापी नेटवर्क र विपणन शक्तिले पोखरालाई त्यही मञ्चमा पुर्याउन सक्छ जहाँ आज बाली, पुकेट र कोह समुद्र उभिएका छन्।"

बाली इन्डोनेसियाको पहिचान मात्र होइन, यो सम्पूर्ण विश्वका लागि एउटा जीवनशैलीको प्रतीक बनिसकेको छ। त्यो परिवर्तन एकैदिन भएको थिएन। फोर सिजन्स, सेन्ट रेजिस, आमनपुरी जस्ता ब्राण्डहरूले एकपछि अर्को लगानी गर्दै बालीलाई विश्वको नक्सामा स्थायी ठाउँ दिए। ती ब्राण्डले आफ्ना लाखौं विश्वव्यापी सदस्यहरूलाई "तपाईंको अर्को गन्तव्य बाली हो" भनेर सन्देश पठाए। त्यसपछि बाली बद्लियो।
पोखरासँग त्यो सम्भावना छँदैछ। हिमश्रृंखलाको पृष्ठभूमिमा फेवा र बेगनासको शान्त जलाशय, ट्रेकिङको प्रवेशद्वार, प्याराग्लाइडिङको आकाश। जे चाहिन्छ, सबै छ। केवल चाहिएको थियो एउटा विश्वस्तरीय ब्राण्डको उपस्थिति, जसले विश्वका खर्चालु पर्यटकलाई भन्न सकोस्- पोखरा आउनुपर्छ।
तीन अर्बको सपना, ८० भिल्लाको संसार
कोभिड-१९ अघिबाटै निर्माण सुरु भएको यो रिसोर्ट महामारी, त्यसपछिको आर्थिक मन्दी र विभिन्न आन्दोलनका कारण लम्बिँदै आएको थियो। करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको यो रिसोर्टमा जम्मा ८० वटा भिल्ला छन् र प्रत्येक भिल्लामा एउटा मात्र कोठा राखिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल २० मिनेटको दूरीमा रहेको यो रिसोर्टमा रिटेल स्टोर, हेल्थ क्लब, स्पा, केबल लाउन्ज र स्विमिङ पुलसहितका सुविधा उपलब्ध छन्।
रिसोर्ट दुई चरणमा सञ्चालनमा आउनेछ। पहिलो चरणमा ४० वटा भिल्ला सञ्चालन हुनेछन् भने बाँकी दोस्रो चरणमा थपिनेछन्। "हामी संख्यामा होइन, गुणस्तरमा ध्यान दिँदैछौं," पाण्डे भन्छन्, "नेपालको आवश्यकता पनि आज त्यही खालको पर्यटक हो।"
लक्जरी पर्यटनको नयाँ ज्वार
नेपालमा उच्च खर्च गर्ने पर्यटकहरूको आगमन पछिल्लो केही वर्षमा उत्साहजनक रूपमा बढेको छ। कोर्रा टुर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्यका अनुसार द्वन्द्वपश्चात् केही सुस्ताएको नेपालको लक्जरी पर्यटन बजार अन्तर्राष्ट्रिय ब्राण्डहरूको प्रवेशसँगै पुनः गति लिन थालेको छ। एकपछि अर्को विश्वस्तरीय ब्राण्डले नेपालमा प्रवेश गर्नु र ती ब्राण्डका विश्वव्यापी सञ्जालले नेपाललाई आफ्ना सदस्यहरूसमक्ष प्रचार गर्नुले नेपाल पुनः एक प्रिमियम गन्तव्यको रूपमा विश्व बजारमा चिनिन थालेको उनको भनाइ छ।
चार दशकको पारिवारिक विरासत बोकेको सांग्रिला हस्पिटालिटी ग्रुपले अहिले एकैसाथ चारवटा लक्जरी रिसोर्ट र होटलको कायाकल्प गर्दै छ। काठमाडौंको लाजिम्पाट र पोखरामा पहिलेदेखि सञ्चालनमा रहेका होटलहरू पूर्ण रूपमा नयाँ स्वरूपमा ल्याउने तयारी भइरहेको बेला बेगनास पहिलो प्रमुख परियोजनाका रूपमा उभिएको छ।
बेगनास ताल नजिकै उभिएको यो रिसोर्ट केवल एउटा होटल होइन। यो नेपालको पर्यटन इतिहासमा एउटा नयाँ अध्यायको सुरुवात हो- जुन दिनबाट संसारले पोखरालाई ट्रेकिङको आधार शिविर नभइ, एक विश्वस्तरीय अनुभवको गन्तव्यका रूपमा चिन्न थाल्नेछ।