काठमाडौं। पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण गण्डकी प्रदेशभन्दा पूर्वमा वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा भारी वर्षासमेत भएको छ। तराई क्षेत्रमा तातो बढिरहेका बेला केही जिल्लामा वर्षा भइरहेको छ। बिहीबार बेलुकी अबेर प्राप्त वर्षा मापनको अभिलेखअनुुसार पछिल्लो २४ घन्टामा सबैभन्दा बढी झापाको केचनाकवलमा १५२ मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा हो।
यस्तै सिन्धुपाल्चोकमा ८३.२ मिलीमिटर वर्षा भएको छ। संखाुवासभामा ५८, गोरखामा झन्डै ४९, तनहुँमा ६०.२ र कास्कीमा ५७.६ मिलीमिटर वर्षा भएको छ। यो भारी वर्षा हो। यस्तै लमजुङमा ४६ मिलिमिटर वर्षा भएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार भोलि जेठ ८ गते कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ।
लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा तातो लहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको सूचना अधिकारी कायस्थले बताए। दिपायल र नेपालगन्जमा ४१ डिग्रीभन्दामाथि अधिकतम तापक्रम पुगेको छ।