मनाङको भ्राताङमा बिहानको पहिलो घाम झुल्किनासाथ स्याउ बगैंचामाथि सुनौलो आभा फैलिन्छ। हिमालका सेता चुचुराहरू चम्किन थाल्छन् । समुद्री सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको यो भूभाग कुनै समय नेपालको सबभन्दा दुर्गम क्षेत्रमध्ये गनिन्थ्यो। सडक थिएन, बजार थिएन, पूर्वाधार थिएन।
तर, आज यही भूभाग नेपालको कृषि, पर्यटन र मूल्य अभिवृद्धिमा आधारित उद्यमशीलताको नयाँ केन्द्र बनेको छ। त्यही भूगोलबाट जन्मिएको छ- मनाङ भ्याली वाइन।
यो केवल एउटा वाइन ब्रान्ड होइन। यो नेपाली कृषि उत्पादनलाई प्रिमियम ब्रान्डमा रुपान्तरण गर्ने प्रयास हो। यो स्थानीय स्रोतलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने महत्वाकांक्षा हो। यो तीन पुस्तासम्म जोगिएको सपनाको व्यावसायिक अभिव्यक्ति पनि हो।
आज मनाङ भ्याली वाइन नेपालका प्रमुख सहरमा लोकप्रिय बनिसकेको छ। हङकङमा निर्यात सुरु भइसकेको छ। अमेरिका, बेलायत, अस्ट्रेलिया र युरोपमा बसोबास गर्ने नेपाली समुदायबीच यो नेपालको पहिचान बोकेको कोसेलीका रूपमा स्थापित हुँदै गएको छ।
तर, मनाङ भ्याली वाइनको कथा आजबाट सुरु भएको होइन। यसको जरा तीन दशकभन्दा धेरै पछाडि पुग्छ।
माटोको घ्याम्पोबाट सुरु भएको उद्योग
नेपालमा वाइन उद्योगको इतिहास लेख्दा स्वर्गीय सत्यलाल रञ्जितकारको नाम उल्लेख नगरी पूरा हुँदैन। सन् १९८० को दशकमा नेपालमा वाइन संस्कृतिको अस्तित्व लगभग शून्य थियो। सीमित वर्गमा बियर प्रयोग भए पनि वाइन भने सामान्य नेपालीका लागि अपरिचित पेय पदार्थ थियो। त्यही समय सत्यलालले नेपालका विभिन्न फलफूलबाट वाइन उत्पादनको प्रयोग सुरु गरे।
सुन्तला, नासपाती, आरुबखडा, ऐंसेलु र सिस्नोसम्मबाट वाइन बनाउन सकिन्छ भन्ने सम्भावना खोज्दै उनले उत्पादनका प्रारम्भिक प्रयास गरे। आधुनिक प्रविधि थिएन। माटोका घ्याम्पामा फलफूल राखिन्थ्यो। हातैले प्रशोधन गरिन्थ्यो। बजार सानो थियो। उपभोक्ता झन् सीमित थिए।
तर, सत्यलाल तत्कालीन बजारका लागि होइन, भविष्यका लागि काम गरिरहेका थिए।
बागवानी क्षेत्रमा कार्यरत रहँदा उनले खेर जाने फलफूललाई मू्ल्यवान् उत्पादनमा रुपान्तरण गर्ने सम्भावना देखेका थिए। विदेश भ्रमणका क्रममा चाखेको वाइनलाई नेपालमै उत्पादन गर्ने उनको सपना तत्काल व्यावसायिक रूपमा सफल नभए पनि नेपाली वाइन उद्योगको आधारशिला भने त्यहीँबाट निर्माण भयो।
त्यसपछि दोस्रो पुस्ताका रूपमा उनका छोरा महेश्वरलाल रञ्जितकारले त्यो यात्रालाई निरन्तरता दिए। संखुवासभामा स्थापित मकालु वाइन इन्डस्ट्री र ‘हिन्वा वाइन’त्यसको परिणाम थियो।
विद्युत् अभाव, कमजोर पूर्वाधार, सीमित बजार र यातायात समस्याबीच पनि परिवारले उद्योग छाडेन। चुनौतीसँगै संघर्ष ग¥यो किनकि उनीहरूका लागि यो केवल व्यवसाय थिएन, एउटा विरासत थियो।
हजुरबाको सपना अस्वीकार गर्ने नाति, अन्ततः त्यही यात्रामा
आज मनाङ भ्याली वाइनको यात्रामा तेस्रो पुस्ताको प्रतिनिधित्व आश्रय रञ्जितकारले गरिरहेका छन्। विडम्बना के भने युवावस्थामा उनले आफ्ना हजुरबाको सपना पछ्याउने योजना बनाएका थिएनन्। कक्षा १२ पछि सत्यलालले उनलाई वाइन उत्पादनसम्बन्धी अध्ययनका लागि विदेश जान सुझाएका थिए। तर, द्वन्द्वकालीन अस्थिरता, उद्योगमाथिको आक्रमण र परिवारले भोगेको पीडाले गर्दा उनका बुबाले फरक बाटो रोज्न प्रेरित गरे।

त्यसबेला हिन्वा वाइन उद्योगमा द्वन्द्वकालमा आक्रमण गरी तोडफोड गरेको थियो। परिवारले व्यवसाय जोगाउन संघर्ष गरिरहेको थियो। यही कारण आश्रयलाई वाइन उद्योगबाट टाढा राख्ने प्रयास भयो। उनी भारत गए। फिजियोथेरापी अध्ययन गरे। अध्ययन पूरा गरेपछि नेपाल फर्किए र करिब दुई वर्ष फिजियोथेरापिस्टका रूपमा काम गरे।
तर, परिवारभित्रको वातावरण, उद्योगसँगको भावनात्मक सम्बन्ध र अधुरो विरासतले महेश्वरलाललाई अन्ततः फेरि वाइन उद्योगमै फर्कायो। हिन्वा वाइनमा आबद्ध भएपछि उनले आधुनिक व्यवस्थापन, प्रविधि र मार्केटिङलाई जोड दिए। प्रतिस्पर्धी बजारमा ब्रान्डलाई पुनःस्थापित गर्न भूमिका खेले। तर, पारिवारिक व्यवसायको संरचनागत सीमाबीच उनले नयाँ सम्भावनाको खोजी जारी राखे।
सन् २०२१ मा हिन्वाबाट बाहिरिएपछि पनि उनको वाइनप्रतिको मोह समाप्त भएन। बरु, त्यो मनाङ भ्याली वाइनको अर्काे अध्यायको तयारी थियो।
जब दुई परिवारका सपना एउटै ब्रान्डमा मिसिए
मनाङ भ्याली वाइनको वास्तविक कथा यहींबाट सुरु हुन्छ। एकातिर सत्यलाल रञ्जितकारले तीन दशकअघि सुरु गरेको नेपाली वाइन उद्योगको सपना थियो। अर्कातिर मनाङको कठोर भूगोलमा स्याउ खेतीको सम्भावना देख्ने पेमा छिरिङ गुरुङको दृष्टि थियो।
दुई फरक परिवार। दुई फरक उद्योग। तर, अन्तिम लक्ष्य एउटै, स्थानीय स्रोतलाई मूल्य अभिवृद्धि गरेर विश्वस्तरीय उत्पादन बनाउने।
मनाङमा वाइन उद्योग स्थापना गर्ने प्रारम्भिक तयारीका क्रममा आवश्यक उपकरण र प्राविधिक सामग्री ल्याउने काममा उनले सहयोग गरिरहेका थिए।
मनाङ भ्याली वाइन यही दुई विरासतको संगम हो। रोचक कुरा के थियो भने आश्रय रञ्जितकार सुरुमा मनाङ भ्याली वाइनका साझेदार बन्ने योजनामा थिएनन्।

छेके घले उनका निकट मित्र थिए। मनाङमा वाइन उद्योग स्थापना गर्ने प्रारम्भिक तयारीका क्रममा आवश्यक उपकरण र प्राविधिक सामग्री ल्याउने काममा उनले सहयोग गरिरहेका थिए। तर, व्यवसायमा प्रत्यक्ष साझेदार बन्ने सोच बनिसकेको थिएन।
त्यसैबीच कोभिड महामारी आयो।
छेके लामो समय बिरामी परे। उद्योग स्थापना तयारी भने रोक्न सकिने अवस्था थिएन। त्यसैले केही समयका लागि आश्रयलाई मनाङ पठाइयो।
त्यही यात्राले भविष्य बदलिदियो। मनाङ पुगेपछि उनको भेट युवराज गुरुङसँग भयो। स्याउ खेती, वाइन उद्योग, बजार सम्भावना र दीर्घकालीन योजनाबारे लामो छलफल भयो। उद्योग स्थापनाको तयारीका क्रममा उनीहरूबीच विचार मिल्यो।
आश्रय सम्झन्छन्, ‘म सुरुमा केवल सेटअपमा सहयोग गर्न गएको थिएँ। तर, त्यहाँ पुगेर सम्भावना देखें। वाइन उद्योगबाट बाहिरिएको थिएँ, तर वाइनप्रतिको मोह हटेको थिएन।
त्यसपछि युवराजले उनलाई साझेदारका रूपमा काम गर्ने प्रस्ताव गरे। आश्रयले प्रस्ताव स्वीकार गरे। त्यही भेट मनाङ भ्याली वाइनको निर्णायक मोड बन्यो।
स्याउ क्रान्तिको तीन पुस्ते यात्रा
-1784616195.jpg)
मनाङ भ्याली वाइनको कथा बुझ्न मनाङको स्याउ खेतीको इतिहास बुझ्न आवश्यक छ। आज भ्राताङको नाम लिँदा मानिसहरूको मनमा स्याउ बगैंचाको तस्बिर आउँछ। तर, चार दशकअघि अवस्था बिल्कुलै फरक थियो।
त्यसबेला पेमा छिरिङ गुरुङले मनाङमा व्यावसायिक स्याउ खेतीको सम्भावना देखेका थिए।
सडक थिएन। यातायात थिएन। बजारसम्म पहुँच थिएन। तर, उनले हिमालपारिको कठोर भूगोलमा अवसर देखे। त्यही अवसरलाई पछ्याउँदै उनले स्याउ खेती विस्तार गरे। विस्तारै बगैंचा बढ्दै गयो। उत्पादन बढ्दै गयो।
पछि उनका छोरा पाल्तेन गुरुङले त्यो अभियानलाई नयाँ उचाइमा पुर्याए। पाल्तेनको एउटा विश्वास थियो, ‘आफू मात्र सम्पन्न भएर पुग्दैन, गाउँ पनि सम्पन्न हुनुपर्छ।’
त्यही सोचका कारण उनले स्याउ खेतीलाई केवल पारिवारिक व्यवसायमा सीमित राखेनन्। स्थानीय समुदायलाई समेत त्यसमा जोड्ने प्रयास गरे। सन् २०१४ तिर परिवार काठमाडौंको होटल व्यवसाय छाडेर पुनः मनाङ फर्कियो। त्यसपछि स्याउ खेतीलाई थप व्यावसायिक बनाउने अभियान सुरु भयो।
प्रत्येक साझेदारले आफ्नो विशेषज्ञताअनुसार जिम्मेवारी सम्हालेका छन्। कोही उत्पादनतर्फ केन्द्रित छन्। कोही बजार र ब्रान्डिङमा।
आज तेस्रो पुस्ताका रूपमा युवराज गुरुङ एग्रो मनाङमार्फत त्यसको नेतृत्व गरिरहेका छन् केवल साझेदारी होइन, टोलीको शक्ति बनेर। मनाङ भ्याली वाइनको सफलता केवल एक वा दुई व्यक्तिको उपलब्धि होइन।
यो एउटा टोलीको कथा हो।
युवराज गुरुङ, छेके घले र आश्रय रञ्जितकारसँगै सामराज गुरुङ, प्रेम गुरुङ र अनिल गुरुङ पनि कम्पनीको नेतृत्वमा छन्।
प्रत्येक साझेदारले आफ्नो विशेषज्ञताअनुसार जिम्मेवारी सम्हालेका छन्। कोही उत्पादनतर्फ केन्द्रित छन्। कोही बजार र ब्रान्डिङमा। कोही सञ्चालन र व्यवस्थापनमा। कम्पनीका अनुसार यही टोलीगत कार्यशैलीले छोटो समयमै मनाङ भ्याली वाइनलाई बजारमा स्थापित गर्न मद्दत गरेको हो।
स्याउ बेच्ने होइन, स्याउको मूल्य बढाउने रणनीति नेपालमा स्याउ उत्पादन बर्सेनि बढ्दै गएको छ। तर, किसानले लामो समयदेखि एउटै समस्या भोग्दै आएका छन्-मूल्य अस्थिरता।
उत्पादन राम्रो भयो भने मूल्य घट्ने। बजार नपाए फलफूल खेर जाने। बिचौलियाको दबाब बेहोर्नुपर्ने। मनाङ भ्याली वाइनले यही समस्यालाई अवसरमा रुपान्तरण गर्ने प्रयास गर्यो।
कम्पनीले स्याउलाई कच्चा कृषि उत्पादनको रूपमा बेच्ने होइन, मूल्य अभिवृद्धि गरेर प्रिमियम ब्रान्डमा रुपान्तरण गर्ने रणनीति अपनायो। यो व्यावसायिक मोडलको सबभन्दा बलियो पक्ष यही हो। एक किलो स्याउ बेचेर प्राप्त हुने आम्दानी र त्यही स्याउलाई प्रशोधन गरी प्रिमियम वाइन बनाएर बिक्री गर्दा प्राप्त हुने मूल्यबीच ठूलो अन्तर हुन्छ।
त्यही अन्तरले किसान, उद्योग र उपभोक्ता-तीनै पक्षलाई लाभ पुर्याउने आधार तयार गरेको छ।
कसरी लोकप्रिय बन्यो मनाङ भ्याली वाइन?
बजारमा प्रवेश गर्नु आफैंमा चुनौतीपूर्ण थियो।
नेपालको वाइन बजारमा विदेशी ब्रान्डको दबदबा थियो। वाइन भनेको अंगुरबाट मात्र बन्ने भन्ने धारणा पनि बलियो थियो। त्यही बजारमा विशुद्ध मनाङको स्याउबाट बनेको वाइन स्थापित गर्नु सजिलो काम थिएन। तर, कम्पनीले सुरुआतदेखि नै नेपाली उपभोक्ताको स्वाद बुझ्ने रणनीति अपनायो।
सुरुमा स्वीट ह्वाइट र सेमी स्वीट भेरियन्ट बजारमा ल्याइयो। यी उत्पादनले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाए। त्यसपछि अन्तर्राष्ट्रिय ट्रेन्ड र नयाँ पुस्ताको स्वादलाई ध्यानमा राख्दै ड्राइ ह्वाइट र रोज वाइनसमेत बजारमा ल्याइयो।
विशेषगरी प्रिमियम ग्राहक र युवा पुस्तामाझ ड्राइ वाइनको लोकप्रियता बढ्दै गएको कम्पनीको अनुभव छ।
मनाङ भ्याली वाइनको अर्काे बलियो पक्ष यसको मौलिकता हो। नेपालमा उपलब्ध अधिकांश वाइन आयातीत अंगुर वा अन्य फलफूलमा आधारित छन्।
सुरुमा यो व्यक्तिगत तहको पहलजस्तो देखिए पनि विस्तारै यसले नयाँ बजारको संकेत दिन थाल्यो।
तर, मनाङ भ्याली पूर्ण रूपमा मनाङको स्याउमा आधारित छ। यही मौलिकताले छोटो समयमै ब्रान्डलाई छुट्टै पहिचान दिलायो।
कोसेलीबाट सुरु भएको निर्यात यात्रा
मनाङ भ्याली वाइनको अन्तर्राष्ट्रिय यात्रा कुनै व्यापारिक प्रतिनिधिमण्डल, निर्यात सम्झौता वा सरकारी कार्यक्रमबाट सुरु भएको थिएन।
यो सुरु भएको थियो-कोसेलीबाट।
विदेश जाने नेपालीले आफ्ना साथीभाइ, आफन्त र विदेशी सहकर्मीलाई नेपालको चिनोका रूपमा मनाङ भ्याली वाइन लैजान थाले। सुरुमा यो व्यक्तिगत तहको पहलजस्तो देखिए पनि विस्तारै यसले नयाँ बजारको संकेत दिन थाल्यो।
अमेरिका, बेलायत, अस्ट्रेलिया, हङकङ र युरोपका विभिन्न मुलुकमा बसोबास गर्ने नेपाली समुदायबाट माग आउन थाल्यो।

‘हामीले सुरुमा निर्यातको औपचारिक योजना बनाएका थिएनौं,’ आश्रय रञ्जितकार भन्छन्, ‘तर विदेश पुगेका नेपालीले नै यो उत्पादनको माग सिर्जना गरिदिए।’
त्यसपछि कम्पनीले औपचारिक निर्यातको तयारी सुरु गर्यो।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले पहिलो पटक हङकङमा ५० कार्टुन निर्यात गर्यो। त्यसको एक वर्षमै निर्यात उल्लेखनीय रूपमा बढेर २३० कार्टुन पुग्यो।
कम्पनीका अनुसार यो सुरुआत मात्र हो। अब उनीहरूको लक्ष्य विश्वभर रहेका नेपाली समुदाय भएका बजारमा विस्तार हुनु हो।
विदेशमा रहेका नेपालीका लागि मनाङ भ्याली वाइन केवल पेय पदार्थ होइन, नेपालसँग जोडिएको भावनात्मक उत्पादन बनिरहेको कम्पनीको बुझाइ छ।
पाँचतारे होटलको ढोका अझै खुल्न बाँकी
मनाङ भ्याली वाइनले छोटो समयमै बजारमा लोकप्रियता हासिल गरिसकेको छ। नेपालका विभिन्न सहरमा बिक्री सञ्जाल विस्तार भइरहेको छ। निर्यात पनि सुरु भइसकेको छ। तर, कम्पनीले अझै पार गर्नुपर्ने एउटा महत्वपूर्ण चुनौती बाँकी छ- पाँचतारे होटल।

आश्रय रञ्जितकारका अनुसार गुणस्तरका हिसाबले हामी अब्बल भए पनि अधिकांश पाँचतारे होटलका बार र रेस्टुरेन्टमा मनाङ भ्याली वाइनले अझै अपेक्षित स्थान पाउन सकेको छैन।
उनी भन्छन्, ‘हामीले उत्पादनको गुणस्तरमा कहिल्यै सम्झौता गरेका छैनौं। तर, अहिले पनि कतिपय ठाउँमा नेपाली वाइन गुणस्तरीय हुँदैन भन्ने मानसिकता बाँकी छ।’
उनका अनुसार कम्पनीको प्राथमिकता सुरुमा बजार निर्माणतर्फ केन्द्रित थियो। त्यसैले होटल क्षेत्रभन्दा उपभोक्तामाझ ब्रान्ड स्थापित गर्न बढी ध्यान दिइयो।
तर, अब अवस्था बदलिँदै गएको छ।
मनाङ भ्याली वाइनलाई पाँचतारे होटलका बार, प्रिमियम रेस्टुरेन्ट र पर्यटन उद्योगसँग जोड्ने योजना कम्पनीको प्राथमिकतामा परेको छ।
मैदानी क्षेत्रमा सहज रूपमा उपलब्ध हुने धेरै वस्तु मनाङ पुर्याउन ठूलो लागत र समय लाग्छ।
‘एक दिन पाँचतारे होटलका बारमा मनाङ भ्याली वाइन नियमित रूपमा उपलब्ध हुनेछ भन्ने विश्वास छ,’ आश्रय भन्छन्।
यो केवल बिक्रीको विषय होइन। यो नेपाली उत्पादनप्रति बजारले गर्ने विश्वासको परीक्षा पनि हो।
हिमालमा उद्योग चलाउनु आफैंमा चुनौती
मनाङको सौन्दर्य जति आकर्षक छ, त्यहाँ उद्योग सञ्चालन त्यति नै कठिन छ। मैदानी क्षेत्रमा सहज रूपमा उपलब्ध हुने धेरै वस्तु मनाङ पुर्याउन ठूलो लागत र समय लाग्छ।

उद्योग सञ्चालनको सुरुआती चरणमा कम्पनीले ढुवानीका क्रममा ठूलो समस्या भोग्यो। विशेषगरी बोतल र प्याकेजिङ सामग्री ढुवानी गर्दा ठूलो संख्यामा बोतल फुट्ने समस्या आएको थियो।
हिमाली भूगोल, कमजोर सडक र मौसमका कारण उद्योग सञ्चालनको लागत स्वाभाविक रूपमा बढ्छ। तर, त्यो चुनौतीसँगै अर्काे ठूलो समस्या पनि थियो- विद्युत्।
वाइन उद्योगमा तापक्रम, भण्डारण र उत्पादन प्रक्रियाका लागि स्थिर विद्युत् आपूर्ति अत्यावश्यक हुन्छ। सरकारी विद्युत् आपूर्तिमा मात्र निर्भर भएर उद्योग सञ्चालन सम्भव नदेखेपछि कम्पनीले आफ्नै समाधान खोज्यो।
आफ्नै विद्युत् उत्पादन
मनाङ भ्याली वाइनको सबभन्दा रोचक व्यवसायिक निर्णयमध्ये एक हो- आफ्नै विद्युत् उत्पादन।
कम्पनीले करिब १९ करोड रुपैयाँ लगानी गरेको छ। त्यसमध्ये करिब साढे २ करोड रुपैयाँ खर्च गरेर १०० किलोवाट क्षमताको सानो जलविद्युत् आयोजना निर्माण गरिएको छ। हिमाली क्षेत्रमा उद्योग सञ्चालनका लागि ऊर्जा आत्मनिर्भरता आवश्यक ठानेर यो निर्णय गरिएको कम्पनीको भनाइ छ।
यसले उत्पादन प्रक्रियालाई स्थिर बनाएको छ भने दीर्घकालीन रूपमा सञ्चालन लागत नियन्त्रण गर्न पनि मद्दत पुगेको छ। नेपालका धेरै उद्योगहरूले विद्युत आपूर्ति समस्याको गुनासो गरिरहेका बेला एउटा वाइन कम्पनीले आफ्नै ऊर्जा समाधान निर्माण गर्नु आफैंमा फरक उदाहरण हो।
३ लाख लिटर उत्पादन क्षमता, १९ करोड लगानी
मनाङ भ्याली वाइन अहिले केवल एउटा स्टार्टअपको चरणमा छैन। यो व्यवस्थित औद्योगिक संरचनातर्फ अघि बढिरहेको कम्पनी हो। हाल कम्पनीको वार्षिक उत्पादन क्षमता करिब ३ लाख लिटर छ।

कम्पनीमा ३० जना स्थायी कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा थप करिब २० जना संलग्न हुने गरेका छन्। मनाङजस्तो दुर्गम क्षेत्रमा यस्तो स्तरको उद्योग स्थापना हुनु आफैंमा उल्लेखनीय उपलब्धि मान्न सकिन्छ। उद्योगको विस्तारसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना, सेवा व्यवसाय र आर्थिक गतिविधिमा समेत प्रभाव परेको छ।
किसानका लागि बजार ग्यारेन्टी
मनाङ भ्याली वाइनको प्रभाव केवल उद्योगसम्म सीमित छैन। यसले किसानको आयआर्जनसँग प्रत्यक्ष सम्बन्ध राख्छ। मनाङमा जनसंख्या नै कम छ। त्यसैले स्याउ खेती गर्ने लगभग सबै किसानको उत्पादन खरिद गर्ने प्रतिबद्धता कम्पनीले लिएको छ।
‘मनाङमा स्याउ उत्पादन गर्ने सबै किसानसँग हामी जोडिएका छौं,’ कम्पनीका सञ्चालक भन्छन्। तर, कम्पनीको प्रभाव मनाङमा मात्र सीमित छैन। अहिले मुस्ताङ र जुम्लामा उत्पादन भएका स्याउ पनि कम्पनीले खरिद गरिरहेको छ। यसले किसानलाई महत्वपूर्ण सुरक्षा दिएको छ।
पहिले बजारमा बिक्री हुन नसकेर खेर जाने वा कम मूल्यमा बेच्नुपर्ने स्याउको पनि उपयोग हुन थालेको छ। विशेषगरी आकारमा साना, बाहिरी रूपमा कम आकर्षक तर गुणस्तरीय स्याउ वाइन उत्पादनमा प्रयोग हुने भएकाले किसानलाई थप बजार उपलब्ध भएको छ।
यसले किसानलाई मूल्यको ग्यारेन्टी मात्र दिएको छैन, उत्पादन विस्तार गर्न पनि प्रोत्साहन गरेको छ।
स्याउबाट वाइन, वाइनबाट मूल्य अभिवृद्धि
नेपालको कृषि क्षेत्रको एउटा प्रमुख समस्या भनेको कच्चा उत्पादनमै सीमित रहनु हो। किसानले उत्पादन गर्छ। बजारमा बेचिन्छ। त्यसपछि मूल्य शृंखलाको ठूलो हिस्सा अन्यत्र जान्छ। मनाङ भ्याली वाइनले यही संरचनालाई चुनौती दिएको छ। स्याउलाई कच्चा उत्पादनको रूपमा बेच्ने होइन, प्रशोधन गरी प्रिमियम उत्पादनमा रुपान्तरण गर्ने मोडल अपनाइएको छ।
यसले किसान, उद्योग र उपभोक्ता तीनै पक्षलाई मूल्य सिर्जना गरिरहेको छ। त्यसैले मनाङ भ्याली वाइनको कथा वाइनको कथा मात्र होइन, मूल्य अभिवृद्धिको कथा पनि हो।
वाइनभन्दा ठूलो सपनाः पर्यटन, अनुभव र गन्तव्य ब्रान्डको यात्रा
मनाङ भ्याली वाइनको भविष्य केवल बोतलभित्र सीमित छैन। कम्पनीका सञ्चालकहरू आफूलाई वाइन उत्पादक कम्पनीभन्दा बढी अनुभव बेच्ने ब्रान्डका रूपमा विकास गर्न चाहन्छन्।
मनाङ भ्याली वाइनको टोली पनि यही मोडलबाट प्रेरित छ। उनीहरूको विश्वास छ कि मनाङसँग त्यो सम्भावना छ।
विश्वका धेरै प्रसिद्ध वाइन क्षेत्र फ्रान्सको बोर्डाे, इटालीको टस्कानी, अमेरिकाको नापा भ्याली वा अस्ट्रेलियाको बरोसा, केवल वाइन उत्पादनका लागि प्रसिद्ध भएका होइनन्। ती क्षेत्र वाइन, कृषि, संस्कृति र पर्यटनलाई जोडेर अनुभवमा आधारित अर्थतन्त्र निर्माण गर्न सफल भएका हुन्।
मनाङ भ्याली वाइनको टोली पनि यही मोडलबाट प्रेरित छ। उनीहरूको विश्वास छ कि मनाङसँग त्यो सम्भावना छ। हिमाल, स्याउ बगैंचा, स्थानीय संस्कृति, ट्रेकिङ मार्ग र प्रिमियम वाइन-यी सबै तत्व एउटै स्थानमा भेटिने नेपालको सम्भवतः एकमात्र गन्तव्य मनाङ हुन सक्छ।
त्यसैले कम्पनीको आगामी रणनीतिमा वाइन टेस्टिड, एप्पल टुरिजम र एग्रो टुरिजमलाई विशेष महत्व दिइएको छ।
एप्पल टुरिजमको सम्भावना
मनाङ पुग्ने अधिकांश पर्यटकको गन्तव्य अहिले तिलिचो ताल, अन्नपूर्ण पदमार्ग वा हिमाली दृश्य हुन्। तर, भविष्यमा उनीहरूका लागि अर्काे आकर्षण थपिने सम्भावना छ- स्याउ र वाइनको अनुभव। कम्पनीले स्याउ बगैंचा अवलोकन, उत्पादन प्रक्रिया हेर्ने, स्थानीय वाइन स्वाद लिने र कृषि-पर्यटनलाई जोड्ने अवधारणामा काम गरिरहेको छ।
विश्वभर फार्म टु बोतल अनुभव लोकप्रिय हुँदै गएको छ। उपभोक्ता केवल उत्पादन किन्न चाहँदैनन्, त्यो उत्पादन कहाँबाट आयो, कसरी बन्यो र त्यसको कथा के हो भन्ने पनि जान्न चाहन्छन्। मनाङ भ्याली वाइनको सबभन्दा ठूलो शक्ति नै यही कथा हो। यहाँ आउने पर्यटकले हिमाल हेर्न मात्र होइन, तीन पुस्ताको सपना चाख्न पनि सक्छन् ।
रिसोर्ट र अनुभव अर्थतन्त्र
पर्यटनसँग वाइन उद्योगलाई जोड्ने रणनीतिको अर्काे हिस्सा हो- आतिथ्य व्यवसाय।
मनाङ क्षेत्रमा घुम्न आउने पर्यटकको बसाइँ अवधि बढाउने र अनुभवलाई अझ समृद्ध बनाउने उद्देश्यले सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याइएको छ। यसले कम्पनीलाई केवल उत्पादन बेच्ने व्यवसायबाट अनुभव बेच्ने व्यवसायतर्फ लैजाने आधार तयार गरेको छ।
आज विश्वका धेरै सफल कृषि ब्रान्ड केवल उत्पादन कम्पनी छैनन्। तिनीहरू पर्यटन कम्पनी पनि हुन्। तिनीहरू अनुभव कम्पनी पनि हुन्। मनाङ भ्याली वाइन पनि विस्तारै त्यही दिशातर्फ अघि बढिरहेको देखिन्छ।
नेपाली वाइन उद्योगको नयाँ अध्याय
नेपालमा वाइन उद्योग अझै विकासको प्रारम्भिक चरणमा छ। उपभोक्ता संस्कृति विस्तारै विकसित हुँदै छ। विदेशी ब्रान्डको दबदबा अझै बलियो छ। कच्चा पदार्थ, प्रविधि, बजार र नियामकीय संरचनाका चुनौती अझै बाँकी छन्।
तर, पछिल्ला वर्षहरूमा नेपाली वाइन उद्योगले महत्वपूर्ण परिवर्तन देखाएको छ। उपभोक्ताले स्थानीय ब्रान्डलाई स्वीकार्न थालेका छन्। प्रिमियम नेपाली उत्पादनप्रति रुचि बढ्दै गएको छ। त्यसको एउटा उदाहरण मनाङ भ्याली वाइन पनि हो।
यसले प्रमाणित गरेको छ कि नेपाली कृषि उत्पादनलाई सही ब्रान्डिङ, प्रशोधन र बजार रणनीतिमार्फत अन्तर्राष्ट्रिय स्तरको उत्पादनमा रुपान्तरण गर्न सकिन्छ।
एउटा वाइनभन्दा धेरै ठूलो कथा
मनाङ भ्याली वाइनको कथा अन्ततः वाइनको कथा मात्र होइन। यो तीन पुस्ताले नछाडेको सपनाको कथा हो। यो माटोको घ्याम्पोबाट सुरु भएको एउटा प्रयोगको कथा हो। यो हिमालपारिको कठोर भूगोलमा अवसर देख्ने मानिसहरूको कथा हो। यो स्थानीय उत्पादनलाई मूल्य अभिवृद्धिमार्फत विश्व बजारमा पुर्याउने दृष्टिकोणको कथा हो।

एकातिर सत्यलाल रञ्जितकारले नेपाली वाइन उद्योगको आधारशिला राखे। त्यसलाई महेश्वरलाल रञ्जितकारले जोगाए। आश्रय रञ्जितकारले नयाँ पुस्ताको दृष्टिकोण दिए।
अर्काेतिर पेमा छिरिङ गुरुङले मनाङमा स्याउ खेतीको सपना देखे। पाल्तेन गुरुङले त्यसलाई समुदायसँग जोडे। युवराज गुरुङको पुस्ताले त्यसलाई मूल्य अभिवृद्धिको उद्योगमा रुपान्तरण गर्यो।
यी दुई यात्राको संगम नै मनाङ भ्याली वाइन हो। आज यो ब्रान्डले स्याउलाई वाइनमा रुपान्तरण गरिरहेको छ।
तर, त्योभन्दा महत्वपूर्ण कुरा, यसले एउटा स्थानीय उत्पादनलाई कथा, अनुभव र पहिचानमा रुपान्तरण गरिरहेको छ। हिमालको काखमा उम्रिएको एउटा स्याउ, माटोको घ्याम्पोबाट सुरु भएको एउटा प्रयोग र तीन पुस्ताले जोगाएको एउटा सपना-आज मनाङ भ्याली वाइनका रूपमा विश्व बजारतर्फ अघि बढिरहेको छ।
सायद यही कारण मनाङ भ्याली वाइन केवल बोतलभित्रको वाइन होइन। यो नेपाली कृषि, ब्रान्डिङ र उद्यमशीलताको एउटा सशक्त प्रतीक हो। सम्भवतः नेपाली उत्पादन पनि विश्वस्तरीय बन्न सक्छ भन्ने विश्वासको सबभन्दा सुन्दर उदाहरण।