काठमाडौं। लुम्बिनीमा निर्माणाधीन अत्याधुनिक पाँचतारे होटल ‘हायात रिजेन्सी’को प्रवर्द्धक कम्पनी वेद हस्पिटालिटी प्रा.लि.ले आफ्नो ऋणको रेटिङ पुनः पुष्टि गराएको छ। केयर रेटिङ नेपालले कम्पनीले बैंकबाट लिने कुल ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको ऋण सुविधाका लागि वित्तीय साख निर्धारण गरेको हो। नेपालको प्रतिष्ठित औद्योगिक घराना गोल्यान समूहको लगानी रहेको यो परियोजनाले लुम्बिनीलाई विश्वस्तरीय विलासी पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
केयर रेटिङ नेपालले कम्पनीको ४ अर्ब ५० करोड रुपैयाँको दीर्घकालीन बैंक कर्जाका लागि डबल बी माइनस र १ करोड २० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एफोर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको ऋण भुक्तानी क्षमतामा मध्यम स्तरको जोखिम रहेको र वित्तीय दायित्वहरू पूरा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा आधारहरू रहेको संकेत गर्दछ। विशेष गरी निर्माणाधीन अवस्थामा रहेको र ठूलो पुँजी परिचालन भइरहेका कारण यो स्तरको रेटिङलाई सकारात्मक मानिन्छ।
रिपोर्टअनुसार, परियोजनाको स्वरूप विस्तार भई ‘लक्जरी’ सेग्मेन्टमा स्तरोन्नति गरिएसँगै यसको लागतमा पनि उल्लेख्य वृद्धि भएको छ। सुरुमा ४ अर्ब ६ करोड रुपैयाँ अनुमान गरिएको कुल परियोजना लागत अहिले ६६ प्रतिशतले बढेर ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। होटलको निर्मित क्षेत्रफल ६९ प्रतिशतले बढाएर ४ लाख ९२ हजार वर्गफिट पुर्याइएको छ।
लगानीलाई व्यवस्थापन गर्न कम्पनीले ६७ प्रतिशत ऋण र ३३ प्रतिशत स्वपुँजीको अनुपात मिलाएको छ। कुल ४ अर्ब ५० करोड ऋणमध्ये २ अर्ब ८० करोड रुपैयाँ बैंकहरूसँग सम्झौता भइसकेको छ भने बाँकी १ अर्ब ७० करोड रुपैयाँ वित्तीय व्यवस्थापनको अन्तिम चरणमा रहेको प्रतिवेदनमा उल्लेख छ।
यो परियोजनाको सबैभन्दा सबल पक्ष गोल्यान समूहको लगानी हो। उत्पादन, ऊर्जा र बैंकिङ क्षेत्रमा लामो अनुभव भएको यो समूहले यसअघि नै काठमाडौंमा ‘हायात सेन्ट्रिक’ होटल सफलतापूर्वक सञ्चालन गरिरहेको छ। विश्वविख्यात ब्रान्ड ‘हायात रिजेन्सी’सँगको व्यवस्थापन सम्झौताले गर्दा यो होटलले अन्तर्राष्ट्रिय स्तरको मार्केटिङ सञ्जाल र व्यवस्थापकीय दक्षता प्राप्त गर्नेछ।
ह्यातको विश्वव्यापी छविले लुम्बिनीमा उच्च आय भएका अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्न मद्दत पुग्ने विश्वास रेटिङ एजेन्सीले उल्लेख गरेको छ।
१७७ वटा अत्याधुनिक कोठाहरू रहने यो होटलले विशेष गरी ‘डेस्टिनेसन वेडिङ’ (वैवाहिक पर्यटन), कर्पोरेट मिटिङ र क्यासिनो प्रेमीहरूलाई लक्षित गरेको छ। युनेस्को विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीमा धार्मिक र आध्यात्मिक पर्यटकको चाप बाह्रै महिना हुने भएकाले होटलको व्यापारिक भविष्य राम्रो रहेको रिपोर्टमा उल्लेख छ।
भैरहवा विमानस्थलबाट नजिक हुनु र भारतीय सीमासँगको निकटताले गर्दा यसले भारतीय र तेस्रो मुलुकका पर्यटकहरूबाट राम्रो आम्दानी गर्ने अपेक्षा गरिएको छ।