काठमाडौं। नेपाल प्रहरीले गत वैशाखमा देशभरबाट विभिन्न मुद्दाका २३१९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय ६६ जना, कोशी प्रदेशबाट ३ सय २६ जना, मधेश प्रदेशबाट ७ सय ३० जना, बागमती प्रदेशबाट १ सय ९९ जना, गण्डकी प्रदेशबाट २ सय ४ जना, लुम्बिनी प्रदेशबाट ३ सय ३० जना पक्राउ परेका छन्।
यस्तै, कर्णाली प्रदेशबाट ६८ जना र सुदूरपश्चिम प्रदेशबाट ८४ जना पक्राउ परेका हुन्। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको ८ सय २५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ। उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार १ सय १० रुपैयाँ जरिवाना असुलउपर गरिएको छ ।
प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आमनागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको परिपेक्षमा फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ।
कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगीलगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा प्रहरीले विशेष अभियान संचालन गरी कार्य गर्दै आइरहेको छ।