दोलखा। ग्रेटर अस्टिन नेपाली सोसाइटी(ग्यान्स)को २०२६ कार्यसमिति तथा बोर्ड अफ ट्रष्टि निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै संस्थाले नयाँ नेतृत्व चयन गरेको छ। सोसाइटीको महिला उपाध्यक्षमा दोलखा भीमेश्वर– ३ घर भएकी सपना राउत विजयी भएकी छन्। उतले ४२७ मत प्राप्त गरेकी थिइन्। राउत अमेरिकामा लामो समयदेखि व्यवसाय गर्दै आएकी छन्।
यसपटकको निर्वाचनलाई ग्यान्सको प्रतिस्पर्धात्मक र चासोको रूपमा हेरिएको थियो। निर्वाचन समितिका अनुसार करिब ९०० मत खसेको थियो।
अध्यक्ष पदमा पदम ठकुराठी ४७७ मतसहित विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी रामकुमार महतोले ३४० मत प्राप्त गरेका छन्। यससँगै ठकुराठी नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ।
वरिष्ठ उपाध्यक्ष पदमा अशोक कुमार शाही ४२१ मतसहित निर्वाचित भए भने विनोदकुमार साहले ३८९ मत प्राप्त गरे। महिला उपाध्यक्षमा सपना राउत ४२७ मतसहित विजयी भइन् भने ज्ञानु कुमारी कोइरालाले ३८० मत ल्याइन्। उपाध्यक्ष पदमा धीरेन्द्रकुमार यादव ४१७ मतसहित निर्वाचित हुँदा बोधराज घिमिरेले ३९८ मत प्राप्त गरे।
त्यस्तै महासचिवमा सूर्य कार्की ४४५ मतसहित विजयी भए भने विष्णु पहाडीले ३६३ मत प्राप्त गरे। सचिव पदमा प्रिन्स भट्ट (बसन्त) (रा)० निर्वाचित भए भने कोषाध्यक्ष पदमा नारायण प्रसाद रिजाल विजयी बने।
सदस्यदमा दीपक हुमागाईं, एलिजा थापा–पौडेल, विनम आचार्य र प्रदीपकुमार भडेल निर्वाचित भएका छन्। सदस्यतर्फ २९ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
बोर्ड अफ ट्रष्टितर्फ प्रमुख (चेयर)पदमा देवराज न्यौपाने निर्विरोध निर्वाचित भए भने उपप्रमुख (भाइस चेयर)पदमा निरोज मानन्धर पनि निर्विरोध चयन भए। ट्रष्टि सदस्य पदमा हर्षबहादुर नाकर्मी, रोशन गोसाई, सुरज अधिकारी, सूर्यनारायण साह, टीकामाया गुरुङ र वर्षा गौतम निर्वाचित भएका छन्। ट्रष्टितर्फ ३४ मत बदर भएको जानकारी दिइएको छ।
संस्थागत विस्तार, सामाजिक गतिविधि र समुदायभित्र बढ्दो सक्रियतासँगै यसपटकको निर्वाचनप्रति विशेष उत्साह र व्यापक चासो देखिएको थियो। प्रतिस्पर्धा सकिएसँगै अब नयाँ नेतृत्वसँग ग्यान्सलाई थप एकताबद्ध, पारदर्शी, समावेशी र सबैको साझा संस्थाका रूपमा अघि बढाउने अपेक्षा समुदायले राखेको छ।
ठकुराठी नेतृत्वको नयाँ कार्यसमितिसामु संस्थागत मजबुती, युवा पुस्ताको सहभागिता, आर्थिक व्यवस्थापन र समुदायभित्र सहकार्य तथा सद्भाव कायम राख्दै ग्यान्सलाई सकारात्मक दिशामा अघि बढाउने महत्वपूर्ण जिम्मेवारी रहेको छ।