दुई दशक वित्तीय क्षेत्रमा बिताएका रोशन न्यौपानेले आफ्नो करिअरको सबैभन्दा ठूलो मोड तब रोजे, जब उनले एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदबाट राजीनामा दिएर पर्यटन व्यवसायमा प्रवेश गर्ने निर्णय गरे।
जति बेला न्यौपानेले एनआईसी एसिया बैंकको सीईओका रुपमा कार्यभार सम्हाले, त्यसबेला बैंकको हालत खास राम्रो थिएन। सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा आन्तरिक लेखापरीक्षण विभागको इञ्चार्जका रुपमा आबद्ध भएका उनी सात वर्ष सिईओ भई २०८२ असोज २ गते राजीनामा दिएर बाहिरिएका थिए।
बैंकबाट बाहिरिएपछि न्यौपाने बैंकजस्तै ग्ल्यामर्स व्यवसाय रहेको रिसोर्टमा आफ्नो लगानीसहित व्यवस्थापनमा लागेका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन हुने आशासहित भैरहवा क्षेत्रमा ठूलो लगानीमा पाँचतारे होटल तथा रिसोर्टहरु सञ्चालन भएका थिए। विमानस्थल सञ्चालनमा आएपछि विदेशी पर्यटक धेरै आउने अपेक्षाबीच सञ्चालनमा आएको होटलमध्येको एक हो- लुम्बिनी प्यालेस रिसोर्ट।
रुपन्देहीको छपियामा करिब २६ बिघा क्षेत्रफलमा २०७५ सालदेखि सञ्चालनमा आएको यो रिसोर्ट नेपालकै पहिलो र एकमात्र वाटर रिसोर्ट, वाटर फाउन्टेन, वाटर शोज, म्युजिकल फाउन्टेन, थ्रीडी वाटर स्क्रिन, मोटर बोटिङ, मिनी क्रुज, वाटर रेस्टुरेन्ट, वाटर स्पालगायत दर्जनौँ सुविधा छन्।

सुविधा सम्पन्न रिसोर्ट रहे पनि पर्यटकको आगमनको न्यूनता र प्रचारसँगै उचित व्यवस्थापनका कारण खासै राम्रोसँग सञ्चालनमा आउन सकेको थिएन। अझ तराईको क्षेत्रमा धेरै गर्मी हुने र भारतीय पर्यटकहरु गर्मी छल्न धेरै नेपाल आउने गरे पनि लुम्बिनी प्यालेस रिसोर्टमा ती पर्यटकहरुको आँखा पुगिरहेको थिएन।
भैरहवा तथा लुम्बिनी क्षेत्रमा बैंकिङ कामका क्रममा पुग्दा उनी लुम्बिनी प्यालेस रिसोर्टमा बस्थे। यही क्रममा उनले रिसोर्टको भौतिक पूर्वाधार र सम्भावना देखे।
न्यौपानेले बैंकिङ क्षेत्रमा व्यवस्थापन, जोखिम नियन्त्रण र संस्थागत विस्तारमा उल्लेखनीय योगदान दिएका थिए। एनआईसी एशियाको नेतृत्व गर्दा उनले बैंकलाई देशकै ठूलो निजी बैंकमध्ये एक बनाउने यात्रामा महत्वपूर्ण भूमिका खेले।
तर, उनको दृष्टि केवल बैंकिङमा सीमित रहेन। उनले व्यवस्थापनलाई केवल संस्थाभित्रको प्रक्रिया नभई मूल्य सिर्जना गर्ने कला ठाने। यही सोचले उनलाई पर्यटन उद्योगतर्फ आकर्षित गर्याे।

भैरहवा तथा लुम्बिनी क्षेत्रमा बैंकिङ कामका क्रममा पुग्दा उनी लुम्बिनी प्यालेस रिसोर्टमा बस्थे। यही क्रममा उनले रिसोर्टको भौतिक पूर्वाधार र सम्भावना देखे। तर, व्यवस्थापन, ब्रान्डिङ र बजार पहुँचमा गम्भीर कमजोरी रहेको पनि महसुस गरे।
समस्या सम्पत्तिमा थिएन, समस्या त्यसको प्रस्तुतीकरण र व्यवस्थापनमा थियो, भन्ने उनलाई लागेको थियो। त्यसैले रिसोर्ट सञ्चालकहरुले उनलाई राखेको प्रस्ताव उनले मानेर लगानीसहित व्यवस्थापनमा आए।
पाँचतारे बनाएर म्यारियट ब्राण्डमा चलाउने
जब उनी रिसोर्टमा प्रबन्ध सञ्चालकको रुपमा आबद्ध भए, त्यही बेला उनले आफ्नो सञ्चालकहरुसँग निर्णय गराए कि अब यसलाई अन्तर्राष्ट्रिय ब्राण्डलाई व्यवस्थापनको रुपमा भित्र्याएर सञ्चालनमा ल्याउनुपर्छ।

काठमाडौंबाहिर म्यारियटको कुनै ब्राण्डले व्यवस्थापन नगरिरहेको अवस्थामा न्यौपानेकै आग्रहमा म्यारियटले लुम्बिनी प्यालेस रिसोर्ट सम्हाल्न तयार भयो। र, २०८२ पुस २४ गते म्यारियटसँग सम्झौता गर्दै ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ ब्रान्डमा सञ्चालन गर्ने सहमति भयो। होटलका अनुसार काठमाडौं उपत्यकाबाहिर म्यारियट इन्टरनेसनलको यो पहिलो होटल हो।
सबैभन्दा ठूलो विशेषता भनेको उनले बैंकिङ क्षेत्रबाट सिकेको संस्थागत अनुशासनलाई पर्यटन व्यवसायमा लागू गर्नु हो।
रिसोर्टको अध्यक्ष दीपक पाण्डे, प्रबन्ध सञ्चालकमा रोशन कुमार न्यौपानेलगायत रहेका छन्। योसँगै २०८३ भित्रै पाँचतारे रिसोर्टको रुपमा सञ्चालन गर्ने तयारी गरेको छ।
रिसोर्टमा बुद्ध थिम पार्क, मिनी स्तुपा, मिनी बुद्ध म्युजियम, मेडिटेसन जोन्स, कल्चरल सेन्टर्सलगायत संरचनासमेत उपलब्ध हुनेछ। पूर्ण सञ्चालनमा आएपछि वाटर, इको, वेलनेस, स्पोट्र्स, कल्चरललगायत विश्व पर्यटनका विभिन्न विधाहरूको अनुभव हासिल गर्न चाहने एवं अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न चाहने तथा विवाह लगायतका सर्वाङ्गीण महत्वका व्यक्तिगत कार्यक्रमका लागि अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त नेपालको पहिलो र एक मात्र उत्कृष्ट गन्तव्यस्थलको रूपमा यस रिसोर्ट स्थापित गर्ने लक्ष्य लिएको छ।

रिसोर्टमा अहिले ६० वटा कोठाहरु सञ्चालनमा छन्। तीमध्ये सबैभन्दा महँगो पोण्ड भिल्लाको फ्यामली सुइट रुम हो।
न्यौपानेको सबैभन्दा ठूलो विशेषता भनेको उनले बैंकिङ क्षेत्रबाट सिकेको संस्थागत अनुशासनलाई पर्यटन व्यवसायमा लागू गर्नु हो।
होटल उद्योगमा धेरै लगानीकर्ता पूर्वाधार निर्माणमै केन्द्रित हुने गर्छन्। तर, न्यौपाने व्यवस्थापन, ब्रान्ड, मानव संशाधन, सेवा गुणस्तर र दीर्घकालीन प्रतिफललाई समान महत्व दिन्छन्।
उनले लुम्बिनी प्यालेसलाई केवल रिसोर्ट नभई अन्तर्राष्ट्रिय गन्तव्य बनाउने लक्ष्य राखेका छन्।
