काठमाडौं। मानो रोपेर मुरी उब्जाउने दिन असार १५। सरकारले धान दिवस घोषणा गरेको यो दिनमा दहीचिउरा खाएर हिलोमा छुपुछुपु धान रोप्ने, बाउसे गीत गाउने चलन छ।
तर, यो वर्ष हालसम्म देशभर जम्मा १२ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको कृषि विभागले तथ्यांक सार्वजनिक गरेको छ। पर्याप्त वर्षा नहुँदा धान रोपाइँ कम भएको हो।
अहिले देशभरमा धान खेती हुने जमिन १३ लाख ८२ हजार २ सय ६२ हेक्टर छ। यसमध्ये हालसम्म १ लाख ६६ हजार ९ सय ३ हेक्टरमा मात्रै रोपाइँ भएको हो। गत वर्ष यतिबेला १५.६२ प्रतिशत धान रोपाइँ सकिएको थियो।
धान खेतीका लागि प्राप्त सिँचाइ अभावका कारण अकासे पानीको भरमा कृषकले धान रोपाइँ गर्नुपर्ने बाध्यता छ। यो वर्ष मनसुन सुरु भए पनि सक्रिय नहुँदा धान रोपाइँ कम भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले बताए।
तथ्यांकअनुसार असार १२ सम्म सबभन्दा धेरै गण्डकी र कर्णाली प्रदेशमा रोपाइँ सकिएको छ भने सबैभन्दा कम मधेस र कोसी प्रदेशमा भएको छ।
गण्डकीमा खेतीयोग्य जमिनको २३.६८ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष यो समयमा १३.७९ प्रतिशत रोपाइँ भएको थियो। गत वर्षभन्दा यो वर्ष ९.८९ प्रतिशत बढेको छ। यो प्रदेशमा ९३ हजार ६०६ हेक्टरमा धान रोपाइँ हुन्छ।
यस्तै, कर्णालीमा धान रोपाइँ हुने क्षेत्रफलको २२.८१ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा ३९.१४ प्रतिशत भएको थियो। प्रदेशमा कुल ४३ हजार २९० हेक्टर धान रोपाइँ हुने जमिनमध्ये ९ हजार ८७५ हेक्टरमा रोपाइँ सकिएको हो।
मधेसमा जम्मा ५.०१ प्रतिशतमात्र धान रोपाइँ सकिएको छ। मधेसमा ३ लाख ८२ हजार ४३३ हेक्टरमा धान रोपाइँ हुन्छ। यसमध्ये अहिले १९ हजार १५७ हेक्टरमा मात्र धान रोपाइँ भएको हो। गत वर्ष पनि यो अवधिमा ३.८९ प्रतिशत नै धान रोपाइँ भएको थियो।
कोसीमा ८.२५ प्रतिशत रोपाइँ भएको छ। गत वर्षको यही अवधिमा १४.२५ प्रतिशत रोपाइँ भएको थियो। यो प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर छ, जसमध्ये २२ हजार ८१४ हेक्टरमा रोपाइँ भएको हो।
सुदूरपश्चिममा ९.२६ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्षको यही अवधिमा ४४.४९ प्रतिशत रोपाइँ भएको तथ्यांक छ।
लुम्बिनीमा २०.८ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष यो बेला ९.६६ प्रतिशत रोपाइँ सकिएको थियो। प्रदेशमा ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ।
बागमतीमा १२.५९ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष यही अवधिमा २०.५३ प्रतिशत रोपाइँ भएको थियो। यो प्रदेशमा १ लाख १४ हजार ५२४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ।
विभागको तथ्यांकअनुसार नेपालका कुल ४१ लाख ३१ हजार कृषक घरपरिवारमध्ये करिब २७ लाख ६५ हजार घरधुरीले धान खेती गर्छन्। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा धानले मात्रै करिब २ खर्ब रुपैयाँ बराबरको योगदान पुर्याउँदै आएको छ।