टोकियो। जापान सरकारले आफ्नो दीर्घकालीन आर्थिक खाकाको मस्यौदामार्फत वार्षिक वास्तविक आर्थिक वृद्धिदरलाई स्थायी रूपमा १ प्रतिशतभन्दा माथि पुर्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ, जुन अहिलेको वृद्धिदरभन्दा दोब्बरभन्दा बढी हो। रोयटर्सले अध्ययन गरेको आर्थिक तथा वित्तीय व्यवस्थापनसम्बन्धी आधारभूत नीतिगत खाकाको मस्यौदाले "यथाशीघ्र" १ प्रतिशतभन्दा माथिको दिगो वृद्धिदर सुनिश्चित गर्ने र साथसाथै नोमिनल वृद्धिदर ३ प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य तय गरेको छ। यसले प्रधानमन्त्री सानाए ताकाइचीको आर्थिक पुनरुत्थानप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ।
यस सम्बन्धमा क्याबिनेट कार्यालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। विगत पाँच वर्षमा जापानको औसत वास्तविक आर्थिक वृद्धिदर ०.४ प्रतिशत मात्र रहेको थियो।
मस्यौदाले जापानमा लामो समयदेखि रहिआएको लगानी न्यूनताको प्रवृत्तिबाट विचलन देखाउँदै सरकार र निजी क्षेत्रबीच समन्वय गरी स्रोत-साधनलाई रणनीतिक उद्योगहरूतर्फ परिचालन गर्ने योजना अघि सारेको छ। आर्थिक वर्ष २०४० सम्ममा सरकारी र निजी क्षेत्रको संयुक्त लगानी ३७० खर्ब येन (करिब २.२९ ट्रिलियन डलर) भन्दा बढी पुर्याउने प्रक्षेपण गरिएको छ। उक्त कागजातअनुसार सोही आर्थिक वर्षसम्ममा निजी क्षेत्रको वार्षिक पुँजीगत खर्चलाई करिब २३० खर्ब येनसम्म बढाउने र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) लाई झण्डै १,१०० खर्ब येनसम्म पुर्याउने लक्ष्य सरकारले लिएको छ।
मस्यौदाले वित्तीय दिगोपनप्रतिको प्रतिबद्धता पनि दोहोर्याएको छ। यसमा वृद्धिका लक्ष्यहरूसँग सन्तुलन कायम राख्दै ऋण–जिडिपी अनुपातलाई क्रमशः घटाउँदै लैजाने उल्लेख छ। यसले प्राथमिक सन्तुलन (प्राइमरी ब्यालेन्स) लाई ऋण न्यूनीकरणसँग सुसंगत हुने गरी बहुवर्षीय रूपमा व्यवस्थापन गर्नुपर्ने सूचकका रूपमा अघि सारेको छ।
मौद्रिक नीतिको हकमा मस्यौदाले बैंक अफ जापान (बीओजे) लाई ताकाइचीको वृद्धि एजेन्डासँग आफ्नो निर्णयलाई तादात्म्य गराउन आग्रह गरेको छ, जसका लागि केन्द्रीय बैंकले सरकारसँग नीतिगत समन्वय गर्नुपर्ने कानुनी व्यवस्थालाई आधार बनाइएको छ।
"बलियो अर्थतन्त्र हासिल गर्नका लागि उपयुक्त मौद्रिक नीति व्यवस्थापन अत्यन्त महत्वपूर्ण छ" भनी मस्यौदामा उल्लेख गरिएको छ, जसले ऋणको लागत कम राख्ने प्राथमिकतालाई संकेत गर्छ र यसले केन्द्रीय बैंकसँग सम्भावित नीतिगत तनाव पनि निम्त्याउन सक्छ। सरकारले यो नीतिगत खाकालाई चाँडै अन्तिम रूप दिने अपेक्षा गरिएको छ।