काठमाडौं। अब बैंक तथा वित्तीय संस्थाले ग्राहकको मौखिक अनुरोधमा खाता रोक्का गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो।
वित्तीय अपराध न्यूनीकरण र अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाका लागि उक्त व्यवस्था गरेको केन्द्रीय बैंकले उल्लेख गरेको छ। नयाँ व्यवस्थाअनुसार अब कुनै पनि आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको बैंक खाता रोक्का गर्न प्रहरी वा सम्बन्धित अनुसन्धानकारी निकायले मौखिक वा लिखित रूपमा अनुरोध गर्ना साथ बैंकले तत्काल प्रक्रिया अघि बढाउनुपर्ने छ।
राष्ट्र बैंकले संशोधन गरेको उक्त व्यवस्थाअनुसार बैंकहरूले खाता रोक्का र फुकुवासम्बन्धी कार्यका लागि २४सै घण्टा (२४/७) सक्रिय रहने संयन्त्र अनिवार्य रूपमा मिलाउनुपर्ने छ। यसअघि कार्यालय समय बाहेक वा सार्वजनिक बिदाका दिन खाता रोक्का गर्न ढिलाइ हुँदा अपराधीहरूले बैंकबाट रकम निकालिसक्ने जोखिम थियो। नयाँ व्यवस्थाले यस्तो जोखिमलाई शून्यमा झार्ने लक्ष्य राखेको छ।
सर्कुलरअनुसार बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय अपराधको अनुसन्धान वा कानुन कार्यान्वयन गर्ने अधिकारीको मौखिक वा लिखित अनुरोधलाई तत्काल कार्यान्वयन गर्नुपर्ने छ। यसका लागि प्रत्येक बैंकले आफ्नो आधिकारिक वेबसाइटमा एउटा ‘डेडिकेटेड कन्ट्याक्ट नम्बर’ सार्वजनिक गर्नुपर्ने छ।
जसमा अनुसन्धान अधिकारीले जुनसुकै समयमा सम्पर्क गर्न सक्ने छन्। यस्तो सम्पर्क नम्बरमा आएको सूचनाका आधारमा बैंकले सम्बन्धित खाता अल्पकालीन अवधिका लागि तत्काल रोक्का राख्नुपर्ने छ।
त्यस्तै, राष्ट्र बैंकले खाता रोक्का र फुकुवासम्बन्धी सूचनाका लागि प्रयोग गर्दै आएको वेब पोर्टललाई थप व्यवस्थित बनाएको छ। अब बैंकहरूले फ्याक्स वा चिठ्ठीको प्रतीक्षा नगरी उक्त पोर्टलमा आएको निर्देशनलाई आधिकारिक मानी तत्काल कारबाही गर्नुपर्ने छ। यदि, पोर्टलमा आएको सूचनाअनुसार काम नभएमा वा ढिलाइ भएमा सम्बन्धित बैंक तथा वित्तीय संस्था र त्यसका जिम्मेवार अधिकारीलाई नै जवाफदेही बनाइने र कारबाही गरिने चेतावनी राष्ट्र बैंकले दिएको छ।
खाता रोक्का वा फुकुवा भएपछि त्यसको जानकारी बैंकहरूले राष्ट्र बैंकको ‘सुपरभाइजरी इन्फरमेसन सिस्टम’ (एसआइएस)मार्फत तोकिएको ढाँचामा अनिवार्य रूपमा पठाउनुपर्ने छ। अनुसन्धान गर्ने अधिकारीले कुनै पनि खाताको विवरण मागेमा बैंकले सिधै र यथाशीघ्र उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।