सुदूरपश्चिम। नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले कैलाली-कञ्चनपुरको गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ (बिआइटी) परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले आज कञ्चनपुरको पुनर्वास नगरपालिका(११ डोकेबजारस्थित गौरीफन्टा सीमानाकामा आयोजित कार्यक्रममा सीमा संवाद समूह (बोर्डर इन्टरयाक्सन टिम) परिचालन गरिएको घोषणा गरेका हुन्।
सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने योजनाअनुसार गौरीफन्टा नाकामा ‘बिआइटी’ परिचालन गरिएको बताए।
सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक सुवेदीले सीमा नाकामा कडा सुरक्षा र सहज आवागमनबीच सन्तुलन कायम गर्दै नागरिकसँग प्रत्यक्ष समन्वय बढाउने उद्देश्यले टोली परिचालन गरिएको जानकारी दिए।
उनका अनुसार सादा पोसाकमा परिचालित टोलीमार्फत सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, आवश्यक सूचना संकलन तथा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सीमा नाकाबाट आवतजावत गर्ने नागरिकले वर्दीधारी सुरक्षाकर्मीभन्दा सादा पोसाकमा रहेका टोलीसँग सहज रूपमा सम्पर्क गर्नसक्ने भएकाले सुरक्षासम्बन्धी सूचना प्राप्त गर्न र नागरिकसँग विश्वासको सम्बन्ध विस्तार गर्न यो अवधारणा उपयोगी हुने उनको भनाइ छ।
बाहिनीपति सुवेदीले सीमा समन्वय टोलीमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई ‘निगरानी, समन्वय र नियन्त्रण’ को नीतिअनुसार अनुशासित, नागरिकमैत्री र त्रुटिरहित ढंगले जिम्मेवारी निर्वाह गर्न निर्देशनसमेत दिए।
सशस्त्र प्रहरीले सीमा प्रवेश विन्दुहरूमा यस्ता टोली परिचालन गर्दै सीमासुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी, नागरिकमैत्री र सूचना-आधारित बनाउने रणनीति अघि बढाएको जनाएको छ। हाल गौरीफन्टा नाकासहित हाल देशका विभिन्न छ जिल्लामा कार्यारम्भ गरिएको हो।
कार्यक्रममा सशस्त्र प्रहरी बल नं ३४ गण मुख्यालय कैलालीका गणपति खुमबहादुर केसी, कैलाली र कञ्चनपुरका सीमावर्ती क्षेत्रका सशस्त्र प्रहरी इकाइ प्रमुख, सीमावर्ती वडाका जनप्रतिनिधि तथा नेपाल प्रहरी त्रिनगर प्रहरी चौकीका प्रमुख एवं प्रहरी वरिष्ठ नायब निरीक्षक नैनसिंह भाटलगायतको उपस्थिति थियो।