काठमाडौं । मेगा बैङ्क नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले सरकारले अघि सारेको ‘मर्जर’ नीतिलाई आत्मसात गर्दै मेगा बैङ्कले मर्जर कमिटीसमेत निर्माण गरेको बताएका छन् ।
मेगा बैङ्क ९ औँ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष शाहले आफूहरुसँग सामिप्यता राख्ने र सोँच मिल्ने वित्तीय संस्थाहरुलाई आवद्ध गर्दै अझ शसक्त र व्यवस्थितरुपमा अघिबढ्ने बताए ।
‘मर्जरलाई हामीले नजिकबाट नियालिरहेका छौँ । सोही अनुरुप मर्जर कमिटी बनिसकेको छ । मेगा बैङ्कले वित्तीय बजामा प्राप्त गरेको परिचय तथा भरोसा र विश्वासलाई कायम राख्न हामीसँग सामिप्यता राख्ने र साँेच मिल्ने वित्तीय संस्थाहरुलाई आवद्ध गर्दै अझ शसक्त र व्यवस्थित ढंगले अगाडि बढ्नुको विकल्प छैन ।’ अध्यक्ष शाहले भने ।
उनले बैङ्कको दीर्घकालीन रणनीति अनुसार, देशका ७ ओटै प्रदेशका सबै जिल्ला सदरमुकाम, आर्थिक तथा व्यापारिक कारोबार केन्द्र, हुलाकी तथा मध्य पहाडी राजमार्ग, गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका /महानगरपालिकाहरुमा बैङ्कको सञ्जाल विस्तार गर्ने योजना रहेको बताए ।
बैङ्कका सीईओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैङ्कले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताइन् । उनले एक दशकमै मेगा बैङ्कले समकालीन बैङ्कहरुको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मार्न सफल भएको बताउँदै अब मिडक्याप बैङ्कहरुसँग प्रतिस्पर्धा गर्दै अघि बढ्ने बताइन् ।
मेगा बैङ्कको गत आर्थिक वर्षमा निक्षेप १९ अर्ब बढेर करिब ८८ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि १५ अर्ब ५० करोड बढेर करिब ७३ अर्ब पुगेको छ । बैङ्कका अनुसार कर्जाको आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार रहेको छ । हालसम्म ग्राहकको संख्या झण्डै १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको कार्यक्रममा जानकारी गराइएको थियो ।
मेगा बैङ्कका १०२ ओटा शाखा र १९ एक्सटेन्सन, १०२ ओटा एटीएम मेशिन, ११९ ओटा शाखारहित बैङ्किङ केन्द्र र २५ सय मेगा रेमिट एजेन्टहरु रहेको छ ।
वार्षिकोत्सवको अवसरमा मेगा बैङ्कले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । बैङ्कले छोरीहरुको उज्वल भविष्यलाई सुनिश्चित गर्ने बैङ्कको ‘शिक्षा नै ज्योति’ अभियान अन्तर्गत छात्रवृत्ति कार्यक्रम ल्याएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले छात्रवृत्ति योजना सार्वजनिक गरेकी हुन् ।
बैङ्कले छात्रवृत्तिका लागि प्रत्येक शाखाबाट १/१ जना छात्राहरुलाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहायता उपलब्ध गराउने छ । बैङ्कले यस आर्थिक वर्षमा आर्थिक अवस्था कमजोर भएका १०२ जना छात्राहरुलाई छात्रवृत्तिका लागि छनौट गरिसकेको र आगामी वर्ष शाखा विस्तारसँगै छात्रवृत्तिको संख्या पनि बढ्दै जाने जनाएको छ ।
वार्षिकोत्सवका अवसरमा बैङ्कले डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ्तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गत आर्थिक वर्षमा कक्षा ११ अध्ययनका लागि बैङ्कले १ लाख दिएको थियो भने १२ कक्षा अध्ययनका लागि पुनः १ लाद प्रदान गरिएको बैङ्कले जनाएको छ ।