काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चाँडै चलायमान, सुदृढ र व्यवसायमैत्री बनाउने दिशामा सक्रियता देखाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएकाे भेटघाटमा प्रधानमन्त्री शाहले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गर्दै आगामी मौद्रिक नीति तर्जुमामा ध्यान दिनुपर्ने विषयहरूमा सुझाव दिएका हुन्। यो छलफल मुलुकको आर्थिक विकास, सेयर बजारमा स्थिरता कायम राख्ने उपाय र उद्यमशीलतालाई प्रोत्साहन दिने विषयमा केन्द्रित रह्यो।
लगभग एक घण्टा लामो यस भेटमा प्रधानमन्त्रीले सरकार र केन्द्रीय बैंकबीचको समन्वयलाई मुलुकमा आर्थिक भरोसा निर्माण गर्ने मुख्य आधारको रूपमा उल्लेख गरे। शेयर बजारमा लगानी गरिरहेका सर्वसाधारण लगानीकर्ताको मनोबल कायम राख्न राष्ट्र बैंकले अभिभावकीय दायित्व निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले मौद्रिक नीतिमा रहेका कठोर वा जटिल प्रावधानहरू खुकुलो बनाई शेयर बजारमा लगानीको वातावरणलाई अझ अनुकूल बनाउन सुझाव दिए, साथै उद्यम क्षेत्रमा सुधारको आवश्यकता औंल्याए। साना तथा ठूला उद्यमीहरूले नेपालभित्रै उद्योग-व्यवसाय स्थापना गरी रोजगारी सिर्जना गर्न चाहेमा उनीहरूलाई निर्धक्क लगानी गर्न सक्ने वातावरण मिलाउन र बैंकहरूको ब्याजदर तथा कर्जा शर्तहरूलाई व्यवसायमैत्री बनाउन उनले आग्रह गरे।
यसबाहेक, दीर्घकालीन आर्थिक विकासका लागि महिला उद्यमी र सामाजिक-आर्थिक रूपले पछौटे समुदायका व्यवसायीहरूलाई कर्जामा विशेष सहुलियत दिई उनीहरूलाई अर्थतन्त्रको मूलधारमा जोड्ने गरी मौद्रिक औजारहरू प्रयोग गर्नुपर्ने प्रधानमन्त्रीको धारणा रहेको छ।
गभर्नर पौडेलले भने राष्ट्र बैंक आगामी मौद्रिक नीति र आफ्नो समग्र कार्यशैलीलाई व्यावसायिक, लचिलो र समयानुकूल बनाउन प्रतिबद्ध रहेको बताए। सरकार र राष्ट्र बैंकको साझा उद्देश्य अर्थतन्त्रलाई गति दिनु नै रहेको उल्लेख गर्दै उनले कसैलाई पनि असहज वा त्रसित बनाउने खालको नीति नअपनाउने प्रतिबद्धता जनाए। शेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्मलाई नीतिगत सहजीकरण गर्दै मुलुकको समग्र अर्थतन्त्र गतिशील बनाउने प्रतिबद्धता गभर्नरले दोहोर्याए।