काठमाडौं । नेपाल राष्ट्र बैङ्कका सञ्चालकबीच मौद्रिक नीतिका विषयमा तिव्र मतभेद देखिएको छ । सञ्चालकबीच मतभेदका कारण मौद्रिक नीति आउनमा ढिलाइ भएको राष्ट्र बैङ्क उच्चस्रोतले बतायो ।
मंगलबार ल्याउने गरि सञ्चालकविच सोमबार सहमती भएपनि बोर्डमा निर्णय हुन नसकेपछि मंगलबार मौद्रिक नीति आउन सकेन । कहिले बैठकको आवश्यक संख्या (कोरम) नपुग्ने र बसे पनि सञ्चालकहरुले निर्णयमा अडान लिँदा गभर्नर डा. चिरञ्जिवि नेपाललाई अप्ठेरो परेको राष्ट्र बैङ्क उच्च स्रोतले जानकारी दियो । । विगतका वर्षमा भन्दा यो वर्ष गभर्नरलाई सञ्चालकहरुले दवाव बढाएर अप्ठेरोमा पारेको स्रोतको भनाई छ । गभर्नर नेपालको यो अन्तिम मौद्रिक नीति हो ।
ब्याजदर अन्तर (स्प्रेड) बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकको कुलिङ्ग पिरियड, प्राथमिक क्षेत्रको कर्जा र पुर्नकर्जा को विषयमा सहमति हुन नसकेको एक सञ्चालकले क्यापिटल नेपाललाई बताए ।
स्प्रेडदरमा कडाइ नगर्न गभर्नर डा. चिरन्जीवि नेपाललाई दवाव आएको छ । उनले स्प्रेडमा कडाइ गर्ने अडान लिएका छन् । यस्तै बैंङ्कका सीईओ र सञ्चालकको कुलिङ्ग पिरियडका विषयमा लचक हुनुपर्ने केही सञ्चालकको अडान रहेको स्रोतले बतायो ।
यस्तै गभर्नर नेपाल पुर्नकर्जा सीमा बढाउने पक्षमा छन भने केही कर्जा सीमा बढाउन नहुने भन्ने अडानमा रहेका छन् । उद्योगी, व्यवसायीले पुर्नकर्जा सीमा ३५ अर्बबाट बढाएर १ खर्ब रुपैयाँ पुर्याउन माग गरेका छन् ।
बुधबार बिहान सञ्चालक समिति बैठक राखेर दिउँसो ४ बजेसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारमा गभर्नर नेपाल रहेको उच्च स्रोतले बतायो । तर, अरु सञ्चालक सदस्यले सबै कुरामा सहमती गरेर बिहिबार ल्याउनुपर्ने धारणा राखेको स्रोतले बतायो ।
बुधबार नीति सार्वजनिक हुने नहुनेमा सञ्चालक समिति बैठकमा निर्भर रहने छ । सञ्चालक समितिले पारित गरेमा दिउसो नै मौद्रिक नीति आउने स्रोतको भनाई छ । मौद्रिक नीति तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका सबै विभागहरुले आफनो तर्फबाट गर्नुपर्ने सबै काम पुरा गरेका छन् ।