काठमाडौं । नेपाल राष्ट्र बैङ्क सकेसम्म (आज) बुधबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेको छ । राष्ट्र बैङ्कका गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरु ७ बजे नै केन्द्रीय कार्यलय बालुवाटर पुगेका छन् ।
मौद्रिक नीतिलाई अन्तिम रुप दिन अहिले बिहान सञ्चालक समिति बैठक बस्दैछ । सञ्चालक समितिबाट पारित भएमा दिउँसो ४ बजेसम्म मौद्रिक नीति ल्याउने तयारी गभर्नर डा. चिरञ्जिवि नेपालको छ । झण्डै १० दिन परसरिसकेकाले ढिलाइ गर्न नहुने पक्षमा गभर्नर नेपाल छन् ।
यद्यपी सहमति जुटेन भने मौद्रिक नीति सार्वजनिक एक दिन पर सर्न सक्छ । सकेसम्म बुधबार नै मौद्रिक नीति आउने प्रवल संभावना रहेको राष्ट्र बैङ्क स्रोतले बतायो । क्यापिटल नेपालसंग कुरा गर्दे एक कार्यकारी निर्देशकले भने ‘आजै नीति ल्याउन हामी बिहानैदेखि लागेका छौ संभवत ४ बजेसम्म आउन सक्छ ।’
सञ्चालकबीच मतभेदका कारण मौद्रिक नीति आउनमा ढिलाइ भएको हो । कहिले बैठकको आवश्यक संख्या (कोरम) नपुग्ने र बसे पनि सञ्चालकहरुले निर्णयमा अडान लिँदा गभर्नर नेपाललाई अप्ठेरो परेको स्रोतको भनाई छ ।
विगतका वर्षमा भन्दा यो वर्ष गभर्नरलाई सञ्चालकहरुले दवाव बढाएर अप्ठेरोमा पारेको स्रोतको भनाई छ । गभर्नर नेपालको यो अन्तिम मौद्रिक नीति हो ।
मुलुकमा संघीयता कार्यन्वय सुरु भएपछि जेठ १५ गते संघीय बजेट र असारको अन्तिम सातासम्म राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउने गरेको छ ।ब्याजदर अन्तर (स्प्रेड) बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकको कुलिङ्ग पिरियड, प्राथमिक क्षेत्रको कर्जा, मर्जर र पुनरकर्जाको विषयमा सहमति हुन नसकेको उच्चस्रोतको भनाई छ ।
स्प्रेडदरमा कडाइ नगर्न गभर्नर डा. चिरन्जीवि नेपाललाई दवाव आएको छ । उनले स्प्रेडमा कडाइ गर्ने अडान लिएका छन् । यस्तै बैंङ्कका सीईओ र सञ्चालकको कुलिङ्ग परियडका विषयमा लचक हुनुपर्ने केही सञ्चालकको अडान रहेको स्रोतले बतायो ।