काठमाडौं । हाइड्रो इलेक्ट्रिसिट इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एआईडीसीएल) ले पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन पनि हुने एचआईडीसीएलले जनाएको छ ।
सभामा सामाजिक उत्तरदायित्व अन्र्तगत सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा भुक्तान गरिएको ५० लाख रुपैयाँ सहयोग अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीले साधारण सभाका लागि पुस १७ गते बुक क्लोज गर्नेछ । पुस १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
एचआइडीसीएलले १०० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको जानकारी गराएको छ । संस्थापक सेयरधनीहरुबाट ५ अर्ब ५० करोड रुपैयाँ प्राप्त भएको जनाएको छ ।
अर्थ मन्त्रालयले २ अर्ब २० करोड रुपैयाँ तथा उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले प्रत्येकले १ अर्ब १० करोड रुपैयाँको थप लगानी गरेका छन् ।
संस्थापक लगानीकर्ता कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थाले हकप्रद रकम जम्मा गरेका छैनन् । हकप्रद सेयर निष्कसन गर्ने कम्पनीले क्रेडिट रेटिङको काम अघि बढाइएको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ११ अर्ब र जगेडा कोषमा ६० करोड ६८ लाख रुपैयाँ छ । हकप्रद अनुमतिका लागि एचआईडीसीएलले नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिएको छ ।
हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ । निष्कासन तथा बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

