काठमाडौं। नेपालको अग्रणी व्यावसायिक घराना चौधरी ग्रुपले आफ्नो अन्तर्राष्ट्रिय अटोमोबाइल विस्तार रणनीतिअन्तर्गत सिजी अटो ग्लोबलमार्फत बिवाइडीका विद्युतीय सवारी साधन युरोपका विभिन्न देशमा बिक्री सुरु गरेको छ।
समूहले स्लोभेनियामा बिवाइडीको आधिकारिक बिक्रेताका रुपमा काम थालेको छ। बेलायतमा बिवाइडी युकेअन्तर्गत डिलरका रुपमा आफ्नो उपस्थिति विस्तार गरेको छ। योसँगै चौधरी ग्रुपले युरोपेली विद्युतीय सवारी बजारमा औपचारिक प्रवेश गरेको मानिएको छ।
युरोपमा विद्युतीय सवारी साधनको माग तीव्र बढिरहेका बेला चौधरी ग्रुपको यो कदमलाई रणनीतिक विस्तारका रुपमा हेरिएको छ। विशेष गरी हरित ऊर्जामा आधारित यातायाततर्फ युरोपेली बजारको आकर्षण बढिरहेका बेला बिवाइडी विश्वकै तीव्र गतिमा बढिरहेको विद्युतीय सवारी ब्रान्डमध्ये एक हो।
समूहले स्लोभेनियाको बिटिसी सिटीमा आफ्नो प्रमुख उपस्थितिसमेत स्थापना गरेको छ। हालै त्यहाँ १०० वटा बिवाइडी गाडीका ग्राहक अर्डर पूरा भएको घोषणा गरिएको थियो, जसले बजारमा सकारात्मक संकेत दिएको छ।
चौधरी ग्रुपले दक्षिण एसियामा पनि यसअघि आफ्नो विस्तार बढाएको छ। श्रीलंकामा जेके ग्रुपसँग साझेदारी गर्दै त्यहाँको घरेलु बजारमा बिवाइडी गाडीको बिक्री वितरण सुरु गरिसकेको छ।

बंगलादेशमा पनि चौधरी ग्रुप बिवाइडीको आधिकारिक बिक्रेता बनेर गाडी बिक्री सुरु गरिसकेको छ। नेपालमा यसअघि नै विभिन्न ब्राण्डका कार तथा माइक्रोबस चौधरी ग्रुपले बिक्री गर्दै आइरहेको छ।
बिवाइडी हाल विश्व बजारमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारी ब्रान्ड बनेको छ। अमेरिकी कम्पनी टेस्लालाई उछिनेर बिवाइडी बिक्रीमा अग्रस्थानमा पुगेको हो। उच्च क्षमताको ब्याट्री, आधुनिक प्रविधि र आकर्षक विशेषताका कारण बिवाइडीको विश्वव्यापी माग तीव्र रुपमा बढिरहेको छ।
नेपालबाट सुरु भएको चौधरी ग्रुपले होटल, बैंकिङ, खाद्य उद्योग, इलेक्ट्रोनिक्स र अटोमोबाइल क्षेत्रमा विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको अवस्थामा युरोपदेखि एसियासम्म बिवाइडी सञ्जाल विस्तारलाई समूहको नयाँ अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ।