काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको वास्तिवक स्वामित्व भएका आधिकारिक संस्थापक सेयरधनीहरूको सूची सार्वजनिक भएको छ। पछिल्लो समय लगानीकर्ताका विषयमा बजारमा विभिन्न खालका चर्चा र अन्यौलता भइरहेका बेला कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख रहेको ४६ जना संस्थापक सेयरधनीहरूको पूर्ण विवरण क्यापिटल नेपालले सार्वजनिक गरेको हो। यस आधिकारिक तथ्यांकले कम्पनीको स्वामित्व संरचनालाई स्पष्ट पारेको छ।
पछिल्लो समय कम्पनीको संस्थापक सेयरधनीहरुको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा आधिकारिकता विनाका समाचारहरू प्रवाह भइरहेका बेला कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेखले वास्तविक तथ्य स्पष्ट पारेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयको २०७९ चैत २१ गतेको पत्र र सोही समयको अभिलेख अनुसार विभिन्न व्यवसायीहरूको संलग्नता देखिन्छ।
कम्पनीको सञ्चालक समितिमा आशिष श्रेष्ठ अध्यक्ष छन् भने सञ्चालकहरूमा प्रबिना दाहाल, लतिका गोल्यान र सिद्धान्त झुनझुनवाला (बिजवल्र्ड एडभाईजरीको तर्फबाट) छन्। कम्पनीको संस्थापक सेयरधनीहरूको सूचीमा नेपालका प्रतिष्ठित व्यवसायिक घराना र व्यक्तिहरूको लगानी रहेको आधिकारिक दस्तावेजले पुष्टि गर्दछ।
स्थापनाको तीन वर्ष पूरा गरिसकेको यो कम्पनीका बारेमा पछिल्लो समय बजारमा चर्चामा रहेको संस्थापक सेयरधनीबारेका अन्यौलतालाई कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनीको आधिकारिक सेयर लगतले स्पष्ट पारेको छ। प्राप्त तथ्यांकअनुसार कम्पनीको संचालन लगत तथा सेयर अभिलेख अनुसार सेयरवाला किताबमा सबैभन्दा ठूला संस्थापकहरुमा सेन्दुम क्यापिटल, हुलास अटो क्राफ्ट, लियोन मोटर्स हुन् भने व्यक्तिगततर्फ पशुपति मुरारका, शिरिश मुरारका छन्। शिव रतन सारडा, वेनु अग्रवाल, राजेशकुमार अग्रवाल लगायतका ठूला व्यवसायीहरु छन् भने सबैभन्दा साना व्यक्तिगत संस्थापकहरुमा न्यनतम १० हजार कित्ता सेयर धारण गरेका सदिक्षा रिमाल, उज्वल अग्रवाल, ममता भेठवाल, रितु सिंह रहेका छन्।
याे हाे नेपाल माइक्रो इन्स्योरेन्सकाे आधिकारिक संस्थाक सेयर धनीकाे नाम
माथि उल्लेख गरेबाहेक राहुल अग्रवाल, उज्वल अग्रवाल, शिव रतन सारडा, गौरव सारडा, सिर्जना शर्मा, सुमित कुमार बंशल, ममता भेटवाल, सदिक्षा रिमाल, रितु सिंह, पुनम गोल्छा, सरिता देवी बेगानी, लतिका गोल्याण, अनिशा अग्रवाल, सन्दिप कुमार अग्रवाल, चन्दा देवी अग्रवाल, र संगीता देवी सारडा रहेका छन्।
त्यस्तै अन्य संस्थापकहरूमा विकास अग्रवाल, अनुज अग्रवाल, अमित कुमार बेगानी, सुशान्त चोखानी, नन्द किशोर शर्मा, विप्लव सापकोटा, रितु अग्रवाल, रस्मी अग्रवाल, प्रिती अग्रवाल, श्रृती अग्रवाल, सुशिला देवी मुन्धडा, विना देवी मुन्धडा, चन्दा राठी, रेखा अग्रवाल र विनु देवी काबरा छन्। सेयर लागत नामसारी दस्तावेजअनुसार कुल ५२ लाख ५० हजार कित्ता संस्थापक सेयरबापत ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी भइसकेको देखिन्छ।
भरतपुरमा मुख्य कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स विगत ३ वर्षदेखि सञ्चालनमा रहेको लघुबीमा कम्पनी हो।
कम्पनीले आफ्नो पुँजी संरचनालाई थप मजबुत बनाउन सर्वसाधारणका लागि आइपीओ समेत जारी गरिसकेको छ। २०८१ फागुन ११ गतेदेखि दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गरिएको थियो। कुल २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न स्वीकृति पाएको कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको सेयर बाँडफाँड गरिसकेको छ। यो आधिकारिक विवरण सार्वजनिक भएसँगै बजारमा व्याप्त भ्रम र अन्यौलता हट्ने विश्वास गरिएको छ।