गण्डकी । राष्ट्रिय समाचार समिति (रासस) का पोखरा समाचारदाता जमुना वर्षा शर्मा सम्मानित भएकी छिन् । समाचारको माध्यमबाट पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा उहाँलाई नगद १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले सम्मान गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य पहारीले महिला पर्यटन व्यवसायी सङ्गठित भएर अघि बढ्दा पर्यटन विकासमा टेवा पुग्ने बताए । उनले विसं २०५० यता विभिन्न कारणले पर्यटन क्षेत्र प्रभावित हुँदै गएको स्मरण गर्दै अहिले कोभिडका कारण सङ्कटमा परेको बताए ।
सन् २०१९ मा चार लाख ८० हजार बाह्य र पाँच लाख आन्तरिक पर्यटक गरी करीब १० लाख पर्यटक पोखरा आएको उनले जानकारी गराए ।
पर्यटन क्षेत्रमा १९२ अर्ब प्रत्यक्ष लगानी र ५०० अर्ब निजी क्षेत्रको लगानी जोखिममा रहेको उनको भनाइ छ । पोखरा महानगरका उपप्रमुख मन्जुदेवी गुरुङले महिला आफ्नो अधिकारका लागि सङ्गठित भएर अघि बढ्नुपर्ने बताइन ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकासमा सबैको साथ सहयोग अपरिहार्य हुने बताए । कोभिड–१९ को कारण सुस्ताएको पर्यटनलाई गति दिनुपर्ने बताउँदै उनले सरकार व्यवसायी मैत्री बन्दै उनीहरूलाई क्षेत्रबाट पलायन हुनबाट जोगाउनुपर्ने बताए ।
आन्तरिक पर्यटन पुनःरोत्थान समितिका संयोजक अग्नि कँडेलले अहिलेको अवस्था पर्यटनलाई लय फर्काउन आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताए ।
मञ्चका अध्यक्ष जमुना पराजुलीले महिला पर्यटन व्यवसायीको नेतृत्व तथा व्यक्तित्व विकासमा जोड दिँदै पर्यटन विकासका लागि लागि रहेको उल्लेख गरिन ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा महानगरपालिका–६ का वडाध्यक्ष जगत पहारी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष मीना भट्टराई, सम्मानित व्यक्तित्व जमुना वर्षा शर्मालगायतले पोखराको पर्यटनलगायतका विषयमा बोलेका थिए ।