काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन प्रभावित ऋणी व्यवसायीले ऋण भुक्तानीमा सहुलियत पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले प्रभावित व्यवसायीलाई पहिलो चरणमा न्यूनतम तीन महिना साँवा ब्याज भुक्तानी गर्ने समय थप गर्न लागेको हो।
आइतबार सरकारले प्रभावितका लागि राहतको प्याकेज घोषणा गरेपछि राष्ट्र बैंकले पहिलो चरणमा ऋणीलाई साँवा ब्याज तिर्ने समय न्यूनतम तीन महिना थप गर्ने लागेको स्रोत बताउँछ।
‘अहिले क्षतिको यकिन तथ्यांक आइसकेको छैन। तर, बैंकको किस्ता बुझाउने समय आइसक्यो,’ राष्ट्र बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘त्यसैले प्रभावित व्यवसायीलाई अहिले मंसिरसम्म ऋण तिर्ने समय दिएर बाँकी सहुलियत क्षतिको एकीन तथ्यांक आएपछि दिन सकिन्छ भन्ने छ।’
राष्ट्र बैंक स्रोतका अनुसार बैंकर्स र अन्य सम्बन्धित सरोकारवाला पक्षसँग बृहत छलफल गरेर प्रभावित व्यवसायीलाई अर्थतन्त्रमा नकारात्मक प्रभाव नपर्ने गरी बैंकिङ राहतको दिन लागिएको हो। जसमा प्रभावको वर्गीकरण अति, मध्यम र न्यून गरेर वर्गीकरण गरी कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरण तथा ब्याज पुँजीकरण गर्न पाउने व्यवस्था गरिने छ। साथै, कर्मचारी तथा श्रमिकलाई तलब दिन सहुलियत ब्याज दरमा व्यवसाय निरन्तरता कर्जाको व्यवस्था गरिने छ।
कालोसूचीको व्यवस्थासमेत राष्ट्र बैंकले जेनजी प्रर्दशन पीडित ऋण व्यवसायीको हकमा विद्यमान व्यवस्थामा सहुलियत दिने स्रोतको भनाइ छ।
यस्तै, प्रभावित व्यवसायीलाई दिइएको कर्जाको प्रोभिजनसमेत गत असारमा रहेको मंसिरसम्म कायम हुने व्यवस्था मिलाइने विषय निरन्तर छलफलमा छ। राष्ट्र बैंकले बैंकिङ क्षेत्रको तर्फबाट दिने पहिलो चरणको सहुलियतको प्याकेज भोलि र पर्सीसम्म ल्याउने स्रोतको भनाइ छ।
‘बैंकिङ क्षेत्रले सम्बोधन गर्नुपर्ने विषय २/३ दिनभित्रै आउँछ। प्रभावित व्यवसायमध्ये पनि वर्गीकरण गरेर आवश्यक सहुलियत प्रदान गर्ने विषयमा छलफल भइरहेको छ,’ राष्ट्र बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘प्रभावित व्यवसायीलाई अति, मध्यम र न्यून प्रभावित गरेर तीन भागमा वर्गीकरण गरेर आवश्कताअनुसार व्यवसाय निरन्तरताको लागि सहुलियतमा कर्जा, साँवा ब्याज भुक्तानीमा समय थप, कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण तथा ब्याज पुँजीकरणको व्यवस्था गर्न सकिन्छ।’
साथै, कालोसूचीको व्यवस्थासमेत राष्ट्र बैंकले जेनजी प्रर्दशन पीडित ऋण व्यवसायीको हकमा विद्यमान व्यवस्थामा सहुलियत दिने स्रोतको भनाइ छ। राष्ट्र बैंकले प्रदर्शनकारीद्वारा प्रत्यक्ष रुपमा तोडफोड तथा आगजनी गरिएको भाटभटेनी, हिल्टन होटल, सिजी पार्क जस्ता व्यवसायलाई अति प्रभावित वर्गमा राखेर पुनः निर्माण र पुनः सञ्चालनका लागि र श्रमिकलाई तलब भुक्तानीका लागि आवश्यक पर्ने कर्जा सहुलियत ब्याजदरमा प्रदान गर्ने व्यवस्था गर्ने छ।
यस्तै, अतिप्रभावित व्यवसायको ‘चेन-इफेक्ट’ (चक्रिय प्रभाव अर्थात शृङ्खला प्रभाव)मा परेको व्यापार व्यवसायलाई मध्यम प्रभावित र पर्यटन क्षेत्रलाई न्यून प्रभावित वर्गमा राखेर आवश्यक सहुलियत प्रदान गरिने राष्ट्र बैंक स्रोतको भनाइ छ।