काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा विद्युतीय सवारी साधन (ईभी)को आयात उल्लेख्य रुपमा घटेको छ। गत वर्षको तुलनामा यस वर्ष ईभी आयात ७० प्रतिशतले घटेको हो।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा ४८६ युनिट ईभी नेपाली बजारमा भित्रिएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ७० प्रतिशतले कम हो।
चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)को अवधिमा एक अर्ब २७ करोड रुपैयाँ बराबरको ४८६ युनिट ईभी नेपाली बजारमा भित्रिएको हो। उक्त ईभी आयातबाट सरकारले ८० करोड ६७ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष भित्रिएको ईभीको संख्या एक हजार ११६ युनिट कम हो।
यस वर्ष ईभी आयातमा देखिएको गिरावटको मुख्य कारण चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी र रसुवा बन्द हुनु हो।
गत आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा तीन अर्ब ८२ करोड ७४ लाख रुपैयाँ बराबरको एक हजार ६०२ युनिट ईभी आयात भएको थियो। उक्त आयातबाट सरकारले दुई अर्ब ३१ करोड २२ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
यस वर्ष ईभी आयातमा देखिएको गिरावटको मुख्य कारण चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी र रसुवा बन्द हुनु हो। यी नाकाबाट धेरैजसो चिनियाँ ब्राण्डका विद्युतीय गाडी नेपाल भित्रिने गर्छन्। तर, बाढी पहिरोका कारण बाटो बन्द भएपछि आयातमा अवरोध आएको हो।
दुई महिनाको अवधिमा सबैभन्दा धेरै ईभी चीनबाट आयात भएको छ। साउन र भदौमा मात्र २४० युनिट ईभी चीनबाट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। यस अवधिमा २०७ युनिट ईभी भारतबाट आयात भएको छ।
मोटरसाइकलको आयात करिब २५ प्रतिशतले बढ्यो
गत वर्षको तुलनामा दुई पांग्रे सवारी साधनको आयात बढेको छ। गत वर्षको तुलनामा यस वर्ष २४.६७ प्रतिशतले मोटरसाइकल तथा स्कुटरको आयात वृद्धि भएको छ। हाल नेपाली बजारमा विभिन्न नयाँ ब्राण्डका दुई पांग्रे सवारी साधन आइरहेका छन्। नयाँ-नयाँ ब्राण्डको इन्ट्री भएकाले दुई पांग्रे सवारी साधनको आयात बढेको छ।
यस अवधिमा सात अर्ब ४४ करोड रुपैयाँ बराबरको ५९ हजार ७५० युनिट मोटरसाइकल तथा स्कुटर नेपाल भित्रिएका हुन्।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ महिना)मा ५९ हजार ७५० युनिट मोटरसाइकल तथा स्कुटर नेपाल भित्रिएका छन्। यस अवधिमा सात अर्ब ४४ करोड रुपैयाँ बराबरको ५९ हजार ७५० युनिट मोटरसाइकल तथा स्कुटर नेपाल भित्रिएका हुन्। उक्त आयातबाट सरकारले सात अर्ब ३२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा पाँच अर्ब ५८ करोड रुपैयाँ बराबरको ४७ हजार ९२५ युनिट बाइक तथा स्कुटर नेपाल भित्रिएको थियो। उक्त आयातबाट सरकारले पाँच अर्ब ७२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।