काटमाडाैं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा सुरु गरेको छ । अनलाइन रजिष्ट्रेसन सेवाको सुरुवातसँगै यसमा सहभागीले कार्यालय धाउनु नपर्ने भएको हो ।
उक्त अनलाइन सेवामा सहभागी हुन चाहनेले अब अनलाइन सेवा लिन सक्नेछन । यो योजना सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको हो । इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुक व्यक्तिहरुले सजिलै सहभागी हुन सक्ने छन । यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानुनबमोजिम स्थापना भएका संघ, संस्थामा कार्यरत कर्मचारी सहभागी हुन सक्ने छन् ।
यस्तै, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपैँयाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिकरुपमा पनि रकम जम्मा गर्न सकिने विशेषतासमेत छ ।
पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्र्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ बर्ष पश्चात समेत एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भूक्तानी लिन सक्नेछन् ।
कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् ।
सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको सूचना अधिकारी उद्धव सिलवालले जनाएका छन् ।